Logo

सरकारले साना दल फुटाउन अध्यादेश ल्याए सह्य नहुने शेखर कोइरालाको चेतावनी



काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले दल विभाजन गर्नेगरि अध्यादेश ल्याउन नहुने मत राखेका छन् । सरकारले अध्यादेश ल्याएर साना दल फुटाउनेगरि तयारी गरेको हल्लाबीच शेखरले यस्तो टिप्पणी गरेका हुन् ।

आज (शनिबार) गृहजिल्ला मोरङको बेलबारीमा आयोजित नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले कांग्रेस र एमालेले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढाए लोकतन्त्र नै खतरामा पर्ने बताए ।

उनले भने, ‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिँदैछ । दल फुटाउने गरी अध्यादेश ल्याइए लोकतन्त्र र सुशासनको धज्जी उड्नेछ ।’ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच साना दल फुटाउनेगरि अध्यादेश ल्याउन उच्चस्तरको समझदारी भएको चर्चा छ ।

त्यही समझदारीअनुसार प्रधानमन्त्री ओलीले ढिलोगरि रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउको लागि कदम चालेको पनि बताईन्छ । कतिपयले सरकारले भोलि नै अध्यादेश ल्याउन लागेको भनेरपनि दाबी गरिरहेका छन् । यही सन्दर्भमा कांग्रेसकै भावी नेतृत्वको रुपमा हेरिएका शेखरले कडा चेतावनी दिँदै अध्यादेशको बाटोमा नहिँड्न वर्तमान सरकारलाई खबरदारी गरेका छन् । Photo Source: Dinesh Chandra Thapaliya/Facebook



प्रतिक्रिया दिनुहोस्