Logo

सरकारको सय दिनको उपलब्धि कार्तिक १० गते हुने प्रदर्शनले देखाउँछ: अग्नि सापकोटा



काठमाडौं, कार्तिक ७ । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन माओवादी केन्द्रले काठमाडौमा प्रदर्शन गर्न लागेको पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन ।

बुधबार प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसंगको छलफलमा उनले यस्तो बताएका हुन । प्रेस सेन्टर नेपालका इन्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कार्तिक १० गते हुने प्रदर्शनका क्रममा सरकारको सय दिनको उपलब्धि राम्रो संग थाहा पाउने बताए ।

ओली नेतृत्वको सरकारले सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने निति लिएको छ। यस क्रमश माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो। यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो । सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको सडक प्रदर्शन गर्न लागेको हो ।

‘सरकार नाङगो रुपमा नै दलाल पुजिपती र दलालको पक्षमा खुलमखुला लाग्यो’ सापकोटाले भने, ‘बिद्दुत प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीन बहादुर गुरुङ सङ १० रोपनी जग्गा र भवन सम्म लिनेसम्म आउदा सरकारको सुशासन छरपस्ट भएको छ’ । गुरुङ भ्रष्टाचारमा दोसी ठहर भएका ब्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा लागेको बताए ।

प्रतिनिधि सभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ । यहि निष्कर्षसहित खबरदारी सभा गर्न लागेको हो । उपाध्यक्ष सापकोटाका अनुसार काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ ।

विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उनले बताए ।

माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न प्रदर्शन गर्न लागिएको सुनाए ।

सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि प्रदर्शन गर्न लागिएको हो । संविधान र लोकतन्त्रको रक्षा गर्न, दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न पनि प्रदर्शन आवश्यक रहेको छ ।

उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताए ।

‘साना दल फुटाउने र आफ्नो पार्टीमा लगेर सबैभन्दा ठुलो पार्टी बन्ने एमालेको ध्यय छ । त्यस अन्तरगत दल फुटाउन सहज हुने गरि अध्यादेश ल्याउन लागेका थिए । तर हाम्रो खबरदारीले प्रतिपक्षी दललाई नचिढ्याउन अन्तिम समयमा मन्तिपरिसदको बैठक नै स्थगित गर्न सरकार बाध्य भयो ।’ उनले भने ।

प्रदर्शनका क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइने छ ।

उपाध्यक्ष सापकोटाले नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान विक्री गर्ने तयारी विरुद्ध खबरदारी गरिनेछ । विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न दबाब दिइनेछ ।

बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिइनेछ । सहकारी, मिटरव्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न र राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गरिनेछ ।

सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न सबैले जोडबल गर्न आवश्यक रहेको भन्दै उपाध्यक्ष सापकोटाले प्रदर्शनको तयारीमा जुट्न सबैलाई आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस्