Logo

तीनवटा सवारी एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते



काठमाडौं, कार्तिक ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलवार राति ११स्२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए । ट्याङकर पछाडी ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको राति मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

मृतकको शव भरतपुर अस्तपालको शव गृहमा राखिएको छ । सोहि ट्रकका सह चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष स्याङतान सामान्य घाइते भई भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

ना८ख ८६७४ नम्बरको ट्याङकर चालक मकवानपुर हेटौंडा-१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको रिजालले बताए । ना६ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने बर्ष ३७ को दिपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्