Logo

भत्किएको कोठामा कार्यालय प्रमुख



दाङ, कार्तिक ९ । जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको उक्त रङ्गशाला संरक्षण गर्ने जिम्मा–दाङ जिल्ला खेलकुद विकास समिति हो । तर, त्यही समितिका कार्यालय प्रमुख बस्ने कोठा सुरक्षित छैन ।

सोही रङ्गशालासँगै निर्माण भएको नयाँ भवन अस्तव्यस्त छ । छतमा राखिएको जिप्सन पूरै भाँचिएको छ । गत जेठमा आएको हुरीबतासले पूरै जिप्सन उप्किए पनि त्यसको मर्मत हुनसकेको छैन ।

“हामीले मर्मतका लागि पटकपटक सम्बन्धित निकायमा भनेका छौँ, “तर सुनुवाइ भएको छैन,” कार्यालय प्रमुख शान्ति सौमेको भनाइ छ। त्यस्तै यहाँको फुटबल रङ्गशालामा पनि घाँस उम्रिएको छ । त्यहाँ उम्रिएको घाँस काट्ने औजार छैन । घाँस काट्नका लागि सेनालाई गुहार्नुपर्छ ।

अन्तराष्ट्रियस्तरको उक्त रङ्गशालामा अठौँ राष्ट्रिय फुटबल तथा एथ्लेटिक्स प्रतियोगिता भएका थिए । रु २४ करोड २४ लाख लागतमा रङ्गशाला निर्माण भएको हो । दिवा एवं प्रतिष्ठा जेभीले भिआइपी प्यारापिटसहित रङ्गशाला निर्माण गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्