Logo

अस्पतालमा जेनेरेटर नहुँदा उपचारमा समस्या



गाईघाट (उदयपुर), ९ कात्तिक । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो ।

अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ ।

करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताए ।

विद्युत् आपूति बन्दा भएका बेला जेनेरेटर नहुँदा अस्पतालको शव गृहमा शव राख्न, राति आकस्मिक उपचार सेवा लिन आउने बिरामी तथा कुरुवालाइसास्ती हुने गरेको छ ।

अस्पतालमा डेङ्गीको उपचार गरेर घर फर्किनुभएका त्रियुगा नगरपालिका–३ का राजन कार्कीले भने, “रातिको समयमा पटक–पटक विद्युत् जाने समस्या छ । सो समयमा जेनेरेटर नहुँदा अस्पताल अन्धकारमय हुन्थ्यो । एकहप्ता अस्पताल बस्दा राति अध्यारोमा शौचालय जान, औषधि सेवन गर्नलगायत काममा समस्या हुने गरेको थियो ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष भागवत राउतले अस्पतालमा जेनेरेटर व्यवस्थापन गर्न स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताए । “एक महिनाअघि एकजना आफन्तको सवारी दुर्घटनामा मृत्यु भएपछि चार दिनसम्म शव गृहमा शव राख्नपर्ने बाध्यता आयो, पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा समस्या भएपछि टोल विकास समितिको जेनेरेटर ल्याएर अस्पतालमा शव राखेका थियौँ”, उनले भने ।

जिल्ला अस्पतालमा जेनेरेटर नहुँदा सेवा प्रवाह प्रभावित भइरहेको भन्दै स्थानीय सरकार, सरोकार भएका निकाय तथा राजनीतिक दलले जेनेरेटर व्यवस्थापनमा पहल गर्नुपर्नेमा अध्यक्ष राउतले जोड दिए ।

पन्ध्र वर्ष अघि खरिद गरिएको जेनेरेटर छ वर्षदेखि बिग्रिएर थन्किएको अस्पतालका प्रमुख डा मण्डलले जानकारी दिए । जिल्ला अस्पतालको कार्यभार सम्हाल्न केहीदिन अघि मात्र यहाँ आइपुगेका प्रमुख डा मण्डलले भने, “अस्पतालमा विभिन्न समस्यामध्ये जेनेरेटर व्यवस्थापन जटिल समस्या बनेको छ । समस्या समाधानका लागि प्रदेश सरकार र मन्त्रालयसँग पहल गर्नेछु ।” उनले दुई महिनाभित्र समस्या समाधान हुने जनाए ।

प्रमुख डा मण्डलले नयाँ जेनेरेटर खरिद गर्न ५० लाख बजेट आवश्यक पर्ने भन्दै उक्त रकम अस्पतालसँग नभएकाले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्