Logo

माओवादीले आज सरकारविरुद्ध जनप्रदर्शन गर्दै, तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने तयारी



काठमाडौं, कार्तिक १० । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित रहेर सरकारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शनसहित खबरदारी सभा गर्दैछ।

माओवादीले बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो। सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट कार्यकर्ताहरुको सहभागिता रहने छ ।

बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा गर्न लागिएको जनप्रदर्शनसहित खबरदारी सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्नेछन्। प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ। प्रदर्शनमा पार्टीका सबै जनवर्गीय संगठनलाई जनप्रदर्शनसहित खबरदारीसभा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ ।

बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन्। त्यसपछि जुलुस सुरु हुने छ। जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ। अपराह्न चार बजेभित्र सम्पन्न हुने सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ ।

सरकारको सय दिनको कामको समीक्षा गर्दै प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र पनि बुझाइसकेको माओवादीले माग पुरा नभए तिहार र छठ पर्वपछि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

माओवादीले आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई अहिलेको सरकारले कमजोर बनाउन षड्यन्त्र गरेको र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न नचाहेको आरोप लगाउँदै देशभरि नै आन्दोलन गर्ने तयारी गरेको छ ।

पेरिसडाँडामा बसेको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले आजको आन्दोलनको निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्