काठमाडौं, १० कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले उद्योगबाट विद्युतको बाँकी बक्यौता उठाउन चालेको कदम सही भएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कुलमानको पक्ष लिएका हुन् । उनले भने,‘अहिले कुलमानको इस्युमा सरकार अघि बढेको छ। अस्ति पनि बोर्डको बैठकमा कुलमाजी र मन्त्रीजीको कुरा मिलेन। अरबौंको बक्यौँताको कुरा छ। देशको परिस्थिति कस्तो छ भने ऋण लिएर देश चलिरहेको छ । सरकार भन्छ–तिमी अहिले बक्यौंता नलेउ, बक्यौँता लिएन भने देश चल्छ कसरी? लिने हो कि होइन ?’
सरकारको आलोचना गर्ने क्रममा उनले कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेकोमा पनि विरोध गरे । उनले भने,‘इन्दिरा रानामगर उसभामुख हुनुहुन्छ। उहाँको कमीकमजोरी छैन भन्दिनँ म, छ। तर, यस्तो कमीकमजोरी पनि होइन कि उहाँलाई पदबाटै हटाइदिनुपर्छ भन्ने पनि होइन। के कारणले पदबाट हटाउनुपर्यो ? नेपाली कांग्रेसको उपसभामुख छैन भनिकन पदबाट हटाइदिने ?’
कोइराला सुरुदेखि नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन नहुने पक्षमा छन् । उनले आजपनि सो कुरा दोहोर्याए । सरकारलाई राम्रोसँग काम गर्न सुझाव दिएका कोइरालाले अहिले दल विभाजनसम्बन्धी अध्यादेश किन ल्याउनुपर्यो भनेर प्रश्न गरे ।
उनले थपे,‘अहिले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भइरहेको छ। अहिले किन चाहियो? सरकारले राम्ररी काम गरेर अघि बढ्नु नि। भर्खर सय दिन भयो, दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर के गर्नु खोज्नुभएको उहाँहरुले ? किन चाहियो ? फेरि संसद छैन, संसद भएको भए त्यहाँ ल्याएर छलफल गरेको भएपनि हुन्थ्यो। यस्ता इस्युहरुले तपाईं/हामीलाई चिन्तित तुल्याइरहेको छ। सरकार अलिकति फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने हामीलाई लाग्छ । हामीले सरकारलाई सधैं तिमी गलत बाटोमा हिँड्न खोज्दैछौं भनेर सचेत गराइराख्नुपर्छ । यो आवश्यकत्ता मैले देखेको छु ।’ file photo