Logo

हिमाल आरोहणबाट सात करोड राजस्व संकलन, सात जनाको निधन



काठमाडौं, कार्तिक ११ । शरद ऋतुमा हिमालमा आरोहणका लागि दिइएको अनुमतिबाट सात करोड रुपैयाँभन्दा बढी रकम राज्य कोषमा दाखिल भएको छ । पर्यटन विभागका अनुसार शरद ऋतुमा ४१ वटा हिमाल आरोहणका लागि दिइएको अनुमतिबापत सात करोड ३४ लाख ८९ हजार ६०९ रुपैयाँ हिमाली दस्तुर राजस्व सङ्कलन भएको हो ।

विभागका निर्देशक राकेश गुरुङले यो वर्ष आरोहण अनुमति दिइएका ४१ वटा हिमालमध्ये सबैभन्दा बढी मनासलुमा आकर्षण देखिएको बताए । उनले भने, “मनासलुमा आरोहण अनुमति लिएका २८ समूहका ३०८ जनाबाट मात्रै तीन करोड ७१ लाख ४३ हजार १४३ रुपियाँ राजस्व सङ्कलन भएको छ ।” यस वर्ष मनासलुपछि सबैभन्दा बढी अमादब्लमबाट एक करोड ६९ लाख ४२ हजार ९६०, हिमलुङ्गबाट ४८ लाख १७ हजार २१६, धवलागिरि पहिलोबाट १६ लाख ८९ हजार ३० रुपियाँ, बरुन्त्सेबाट १५ लाख तीन हजार ७७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

४१ वटै हिमाल आरोहण गर्न यो वर्ष १३५ समूहका ८४१ जना पुरुष र २५१ जना महिलासहित एक हजार ९२ जना आरोहीले आरोहण अनुमति लिएका छन् । विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ७२ देशका आरोहीले यस वर्ष अनुमति लिएको विभागले जनाएको छ ।

शरद ऋतुको आरोहणतर्फ यस वर्ष सात जनाको मृत्यु भएको विभागले जनाएको छ । विभागका निर्देशक गुरुङका अनुसार धवलागिरि हिमाल आरोहणका क्रममा पाँच जना रुसी नागरिक, कुम्भकर्ण हिमाल आरोहणका क्रममा एक जना अमेरिकी पर्वतारोही र पान्ड्रा हिमाल क्षेत्रमा एक जना नेपाली आरोहण सहयोगीको निधन भएको हो ।

यस वर्ष संसारकै सातौँ अग्लो आठ हजार १६७ मिटर उचाइको धवलागिरि हिमालको शिखरमा पुग्न १४ जना पुरुष पर्वतारोहीले अनुमति लिएका छन् । रुसी आरोहीको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट दुई करोड एक लाख ३० हजार ५९७ रुपियाँ सङ्कलन भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सूचना अधिकारी विवेक बाइजूका अनुसार साउनदेखि असोजसम्म उक्त क्षेत्रमा १० हजार ३५८ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

उनले भने, “यो वर्षको साउनमा १२५, भदौमा एक हजार ३३१ र असोजमा आठ हजार ९०२ जनाले यस क्षेत्रको भ्रमण गरेका छन् । पर्यटकीय सिजन जारी रहेकाले कात्तिकमा यो सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।”

राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार असोजमा मात्रै सगरमाथा क्षेत्रमा प्रवेश गरेका पर्यटकबाट दुई करोड तीन लाख ४८ हजार ५५३ रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै गरी साउनमा तीन लाख ४५ हजार ९७५ र भदौमा ३२ लाख ३६ हजार ६९ रुपियाँ राजस्व सङ्कलन भएको छ । निकुञ्जले प्रति पर्यटक नेपाली नागरिकलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र अन्य मुलुक तीन हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्