Logo

‘कर्मचारी दर्पण’ लोकार्पण



गण्डकी, ११ कात्तिक । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला न्यायाधीश नवराज दाहालले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रमुख सचिव विष्टले सार्वजनिक सेवा प्रवाहका साथै राष्ट्रसेवक कर्मचारीको एकआपसमा भेटघाट र समन्वय गर्ने साझा संस्थाका रुपमा कर्मचारी मिलन केन्द्र क्रियाशील बनेको बताए । सार्वजनिक प्रशासनका विविध पक्षलगायत विभिन्न लेखरचनालाई समावेश गरी प्रकाशन गरिएको पुस्तक उपयोगी बन्ने उनले विश्वास व्यक्त गरे ।

जिल्ला न्यायाधीश दाहालले विभिन्न सेवा प्रदायक निकायमा काम गर्ने राष्ट्रसेवकको अनौपचारिक फोरमका रुपमा मिलन केन्द्र रहेको बताउँदै यसका माध्यमबाट विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिए ।

मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले केन्द्रको सक्रियतामा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक महिना पोखरा क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक सम्पदा सरसफाइलगायत विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुने गरेको बताए ।

मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले सार्वजनिक सेवा प्रवाहका नियमित कामका अतिरिक्त राष्ट्रसेवकबीच आपसी सद्भाव अभिवृद्धिका साथै विभिन्न सिर्जनात्मक कामलाई केन्द्रले सञ्चालन गरिरहेको बताए । सम्पदा सरसफाइका साथै हरितालिका तीजमा असहाय आश्रित महिला दिदीबहिनीका लागि दरभोजका लागि सहयोगका साथै योग दिवसलगायत हरेक कार्यक्रममा केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।

एक सय ६८ पृष्ठमा समेटिएको कर्मचारी दर्पणको प्रधानसम्पादकमा नवराज बराल रहेको छ भने सम्पादकहरूमा नवराज गौतम, सन्तोष ढुङ्गाना र वासुदेव पौडेल छन् । पुस्तकमा सार्वजनिक प्रशासनसहित विभिन्न सेवा क्षेत्र समेटिएका विज्ञ तथा लेखकका २६ वटा रचना समावेश गरिएको मिलन केन्द्रका सचिव एवं सम्पादक सन्तोष ढुङ्गानाले जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकारको विशिष्ट श्रेणीमा पदोन्नति भएको भन्दै केन्द्रका तर्फबाट प्रदेश प्रमुख सचिव विष्ट, पुस्तक प्रकाशनमा प्रधानसम्पादकको जिम्मेवारी निर्वाह गरेको भन्दै जिल्ला समन्वय अधिकारी बराललाई सम्मान गरिएको थियो । कास्कीका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्न हालै आएका कार्यालय प्रमुख एवं कर्मचारीलाई केन्द्रकातर्फबाट स्वागत गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्