Logo

भाडामा खटाएकाले केपी ओलीको साख घट्यो भन्न सक्छन् : प्रधानमन्त्री ओली



काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लोकप्रियता नघटेको दाबी गरेका छन् । तर, भाडामा खटाएकाले आफ्नो लोकप्रियता घट्यो भनेर प्रचार गरेको उनको आक्रोश छ । आज (आइतबार) काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो लोकप्रियता कायमै रहेको दाबी गर्दै भने,‘भाडामा खटाइएकाहरूले केपी ओलीको साख घट्यो भन्ने सक्छन् । तर, यो देशका सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौँ भन्ने कुरा, केपी ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेरुन् ।’

सो क्रममा उनले भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको भएपनि अहिले निर्वाचनको माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आएको बताएका छन् । प्रधानमन्त्री ओली बेला बेलामा भारतीय नाकाबन्दीको कुरा कोट्याईरहन्छन् । यस्तै, उनले आजको सम्बोधनमा पनि भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको स्मरण गराए ।

उनले भने,‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि, एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।’



प्रतिक्रिया दिनुहोस्