काठमाडौं, कार्तिक १२ । आज बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री नजाने भएका छन्। अहिले दिउँसो सवा १२ बजे बस्ने उक्त बैठकमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने जनाएको थियो । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक टुंगो लगाउँदा अख्तियार विधेयकलाई सँगै टुंग्याउने गरी यो विधेयकमा छलफल गर्न लागेको हो। समितिले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकमाथि छलफल गर्न यसअघि नै उपसमिति गठन गरिसकेको छ।
हृदयराम थानीको संयोजकत्वको उपसमितिले नीतिगत भ्रष्टाचार, निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारसम्बन्धी विवाद, अनुचित कार्य, बेनामी उजुरी र अख्तियारले मुद्दा दायर गर्ने समयसीमा लगायतमा सहमति खोज्न छलफल जारी राखेको छ। अख्तियारसम्बन्धी विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्तिदेखि उसको क्षेत्राधिकारसम्मका विषय समेटिएका छन्।