Logo

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला



गुल्मी, १३ कात्तिक । जङ्गलमा सुकेर खेर गइरहेका काठका मुडाबाट पनि त्यति राम्रा र आकर्षक मूति बन्छन् भन्ने धेरैलाई पत्यार लागेको थिएन । तिनै सुकेर खेर गइरहेका गुराँसका काठका मुडाबाट गुल्मीको सत्यवतीमा निकै आकर्षक डिजाइनका मूर्ति बनाएर मूतिर्ककारले सबैलाई दङग पारेका छन् ।

गुल्मीको पर्यटकीयस्थल सत्यवती क्षेत्रमा काष्ठ मूर्तिकला तथा चित्रकलाले सत्यवतीको पहिचानसँगै सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप आकर्षित गराएको छ । सत्यवती गाउँपालिकाको आयोजनामा सत्यवती क्षेत्रमा १० दिनसम्म सञ्चालन गरिएको कार्यशालाले त्यस क्षेत्रको पहिचानलाई थप मद्दत पुर्याएको छ ।

जिल्लाकै एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीको प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले सत्यवती–३ ठूलो लुम्पेकको सत्यवती क्षेत्रमा पालिकाको आयोजनामा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए । उनले गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवती क्षेत्रको ग्रामीण पर्यटन प्रवद्र्धनका लागि कार्यशालाले थप टेवा पुर्याएको बताए ।

मूर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रको पहिचानसँग जोडिएका विभिन्न प्रकारका दुई दर्जनभन्दा बढी मूर्ति तथा चित्र बनाएका छन् । जङ्गलमा सडेर जाने गुराँसका काठमा सांस्कृतिक, प्राकृतिक र धार्मिक आस्थासहित सत्यवती क्षेत्रको भावना समेटिएका आर्कषक मूर्ति कोरिएको वरिष्ठ मूर्तिकार यामबहादुर थापाले बताए ।

सत्यवतीमा जन्मिएर हाल देशका विभिन्न ठाउँमा रहेका मूर्तिकार तथा चित्रकारको अगुवाइमा सत्यवतीमा निःशुल्क रुपमा कार्यशाला सञ्चालन गरिएको थियो । गाउँपालिकाका वरिष्ठ मूर्तिकार भुवन थापा मगर, यामबहादुर थापा र नरेन्द्र भण्डारीले आफु तथा विभिन्न ठाउँका कलाकारमार्फत सत्यवती क्षेत्रको पर्यटकीय विकासका लागि निःशुल्क रुपमा मूर्ति तथा चित्र निर्माण गरेको बताए ।

मुर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रका मठमन्दिर तथा पूर्व प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्मका मूर्ति र तस्बिर बनाएका छन् । पर्यटन बोर्ड एवं गाउँपालिकाको सहयोगमा उक्त क्षेत्रमा गत वर्ष वनभोजस्थल, ट्रस, शौचालय, पार्क गरि ५८ लाखभन्दा बढी लागतका संरचना निर्माण गरिएको छ ।

नेपाल सरकारका १०१ नयाँ पर्यटकीय गन्तव्यमध्ये सत्यवती क्षेत्र पनि एउटा मुख्य गन्तव्यस्थल हो । सोही अवसरमा गाउँपालिकाले मूर्तिकार एवं चित्रकारलाई सम्मान गरेको छ । कार्यशालामा स्वदेश तथा विदेशमा ख्याती कमाएका २३ जना मूर्तिकार तथा चित्रकारको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्