Logo

चितवनमा सयपत्री फूलखेती गर्ने घटे



चितवन, १३ कात्तिक । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो ।

फ्लोरिकल्चर एसोसिएसनका जिल्ला अध्यक्ष तेजेन्द्र सापकोटाका अनुसार गत वर्ष तिहारको समयलाई लक्षित गर्दै ५० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको थियो । अहिले सो क्षेत्रफल घटेर ४० बिगाहामा झरेको छ । अहिले तिहार लक्षित फूलखेती गर्ने किसानको सङ्ख्या पनि घटेको उनले जानकारी दिए ।

उनले भने, “गत वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले फूलखेती गरेका थिए, अहिले गरेनन् ।” गत वर्ष जिल्लामा लगाइएको फूल बिक्री हुनसमेत निकै समस्या भएको उनले बताए ।

चितवनमा यस वर्षको तिहारमा तीन लाख ५० हजार फूलका मालाको माग हुने अनुमान गरिएको छ । अध्यक्ष सापकोटाका अनुसार यहाँ उत्पादित फूलले चितवनलाई पुग्ने हुँदा यस वर्ष भारतबाट आयात गर्नुपर्ने अवस्था छैन ।

गत वर्ष केही भारतीयले भारतबाट बढी फूल आयात गरिदिँदा यहाँका किसानले उत्पादन गरेका फूलले बजार पाउन नसकेको भए पनि यस वर्ष त्यस्तो अवस्था नआउने उनले विश्वास व्यक्त गरे । एसोसिएसनले जिल्लामा मालाको मूल्य तोकेको छ । उनले भने, “थोक मूल्य प्रतिमाला ६० र खुद्रा मूल्य १०० तय गरिएको छ ।”

जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्ने तीन÷चारजना भएको भए पनि ‘सिजनेवल’ फूलखेती गर्नेहरु आमा समूहदेखि व्यक्तिहरुसमेत हुने गरेका छन् । एक कट्ठादेखि बिगौँ बिगाहा क्षेत्रफलसम्म फूलखेती गर्नेहरु रहेको सापकोटाले बताए ।

भरतपुर महानगरपालिका–७ उज्ज्वलटोलका ईश्वरकुमार श्रेष्ठले यस वर्ष १३ कट्ठा क्षेत्रफलमा फूलखेती गरेका छन् । जिल्लामा यस वर्ष फूलको माग बढी हुने उनले बताए । उनका अनुसार गत वर्ष भारतीय फूल बढी आयात हुँदा यहाँ उत्पादन भएका फूलमाला कम बिक्री भएका थिए । त्यस कारण गत वर्षको तुलनामा फूल उत्पादन गर्ने किसान कम हुँदा यस वर्षको तिहारमा फूलको माग बढी हुने उनले बताए ।

तिहारमा मखमली र सयपत्री फूलको माग बढी हुने गरेको छ । त्यसमा पनि सयपत्रीको माग उच्च हुन्छ । असोजदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको समय पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछिल्लो समय सभासमारोहमा समेत सयपत्री फूलको माला प्रयोगमा आएसँगै बाह्रै महिना फूलखेती गर्नेहरु पनि रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्