काठमाडौं, १४ कात्तिक । नदीजन्य फोहोर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहोरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहोर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहोर निकै बढेको छ ।
यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जनमा दुई सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक तीन सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा एक हजार छ सय मेट्रिक टन फोहोर व्यवस्थापन भइरहेको छ ।
साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहोर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहोर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
‘पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ’, वातावरण प्रमुख सरिता राई बताउँछिन् । रासस