Logo

टिआईए दैनिक १० घण्टा बन्द गर्ने निर्णयलाई लिएर पर्यटनमन्त्री पाण्डे विवादमा, कांग्रेसकै सांसदले उठाए प्रश्न



काठमाडौं, १४ कार्तिक । सरकारले यही कार्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने निर्णय गरिसकेको छ । खासगरी विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बे’लगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने भनिएको छ ।

तर, निर्णय गरेर कार्यान्वयनमा आउनुअघि नै विवाद सुरु भएको छ । खासगरी पर्यटनमन्त्री बद्री पाण्डेले यसमा हचुवामा निर्णय गरेको भनेर कांग्रेसभित्रैबाट आलोचना सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि रणनीतिक रूपमा यो निर्णय लिईएको भन्नेपनि चर्चा छ । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाने तय भएको छ । त्यसअघि नै काठमाडौंस्थित् टिआईए दैनिक १० घण्टा बन्द गरिनुमा सशंय पैदा भएको छ ।

टिआईए दैनिक घण्टा बन्द गर्ने विषयमा कांग्रेस सांसद उदयशमशेर जबराले पनि प्रश्न उठाएका छन् । उनले विमानस्थल पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचना निर्माण गर्न भन्दै अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्नु स्वभाविक मान्न नसकिने टिप्पणी गरेका छन् ।

उनले भने,‘किनकि यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण गर्दा रातिको समयमा ५÷७ घण्टा मात्रै विमानस्थल बन्द गरिएको थियो। यतिबेला त्रिभुवन विमानस्थल बन्द गराएर यता हुने उडानको चाप पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गराउने र ती दुई विमानस्थल ठिकठाक छन् भन्ने देखाउन गलत नियत राखेको स्पष्ट देखिन्छ।’

उनले पोखरा र भैरहवा दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न एकाधबाहेक विमान कम्पनीहरु तयार नहुनुका पछाडि प्राविधिक कमजोरी रहेको दाबी गरेका छन् । उनले अघि भनेका छन्,‘त्यसलाई समेत नजरअन्दाज गरेर नागरिक उड्डयन प्राधिकरण नेतृत्वले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियोजित रुपमै १०÷१० घण्टा बन्द गराएर आफ्ना कमजोरी लुकाउन खोजेको हो भन्नेमा कुनै शंका छैन।’

जबराले उक्त निर्णय नसच्याए देशको अन्तर्राष्ट्रिय छवि र पर्यटन व्यवसायमै ठूलो असर पर्ने निश्चित् रहेको ठोकुवा गरेका छन् । उनले थप भनेका छन्,‘यतिमात्रै होइन, अन्तर्राष्ट्रिय उडान निकै महङ्गो बन्ने निश्चित छ। काठमाडौबाट दिल्ली जान ८० हजारसम्म हवाइ भाडा पुगेको छ। यसले नेपाल आउने र विदेशिने सबै यात्रुलाई पर्ने असरप्रती गम्भीर बन्दै प्राधिकरणको हचुवा निर्णय सच्याउन सरकार अग्रसर हुन जरुरी छ।’ अहिले पर्यटकहरु आउने पिक सिजन हो । यस्तो बेलामा यात्रुहरुलाई सास्ती हुनेगरि काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा नेपालको पर्यटन व्यवसाय नै संकटमा पर्ने पर्यटन क्षेत्रका जानकारहरुको पनि गुनासो छ ।

कांग्रेसकै अर्का सांसद राजेन्द्र बजगाईंले पनि उथलपुथलको बिचमा पोखरा र भैरहवा विमानस्थलको निर्माणमा झन् फैलिएको भ्रष्टाचारले साक्षात्कार गरिरहेको आरोप लगाएका छन् । उनको गम्भीर आरोप छ,‘मन्त्रीहरूले यि भ्रष्ट गतिविधिहरूलाई संरक्षण गर्दैछन्, जसले राष्ट्रको सम्भावनालाई कमजोर पारिरहेको छ। यसकारण, नेपाल एक दुर्भाग्यको चपेटामा पर्ने क्रममा छ, जसले आफ्ना अव्यवस्थित आकांक्षाहरूको बोझ ओढिरहेको छ। जनता झन् निराश भैरहेका छन्। पर्यटनलाई बचाउनुहोस् ।’



प्रतिक्रिया दिनुहोस्