काठमाडौं, १४ कार्तिक । विद्युतको बाँकी बक्यौता उठाउने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरण आमनेसामने भैरहेका छन् । बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाईन काटेपछि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ सरकारको निशानामा परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली त कुलमानलाई जिम्मेवारीबाट हटाउनेसम्मको तयारीमा थिए । तर, कांग्रेसले नै सुरुमा बाधा गरेपछि उनी अहिले पन्छिएका छन् । बक्यौताको विवाद मिलाउने जिम्मा प्रधानमन्त्री ओलीले उर्जामन्त्री दीपक खड्कालाई नै दिएका छन्। हिजोको मन्त्रिपरिषद् बैठकमा यो विषयमा छलफल भएको थियो ।
जसमा प्रधानमन्त्री ओलीले प्राधिकरणसम्बन्धी काम मन्त्री आँफैले ह्याण्डल गर्नुपर्ने भनाई राखेका थिए । हिजोकै बैठकले गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय लिएको छ । त्यसको भोलिपल्ट आज मन्त्री खड्काले कुलमान र उद्योगपतिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् । अहिले छलफल जारी छ ।