काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले अब आन्दोलन र आफ्नो वर्गप्रति यसअघि गरेको योगदानको समिक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले अहिलेसम्म गल्ती नगर्ने व्यक्ति र पार्टी नजन्मिएको बताए ।
आज (बुधबार) नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयले आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘कम्युनिष्ट आन्दोलनको वस्तुवादी संश्लेषण र समिक्षा गर्नुपर्छ । यो शतवार्षिकी कार्यक्रमलाई उपयोग गर्नुपर्छ । सबै मिलौं र एकै ठाउँमा बसौं भनेर मिठा मिठा कुरा गरेर मात्रै यो उद्देश्य पूरा हुँदैन् । प्रत्येक कम्युनिष्ट नेता वा कार्यकर्ताले आत्मसमिक्षा गर्नुपर्यो । सकारात्मक योगदान के कति भयो र कमजोरी कहाँ कहाँ भयो भनेर इमानदार भएर समिक्षा गर्नुपर्यो । सबैले सबै ठीक कसैले पनि गर्न सकेको छैन् । हामी प्रत्येकले यो स्पिरिटबाट सोच्नुपर्छ । रुपान्तरण त्यहीँबाट सुरु हुन्छ भन्ने मेरो विश्वास छ । प्रत्येक पार्टीले पनि आफ्नो तर्फबाट भएको कम्युनिष्ट आन्दोलन, वर्ग संघर्षमा भएको योगदानको समिक्षा गरौं ।’ उनल कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले अब आफ्ना करेक्शन गर्नेतर्फ लाग्नुपर्ने धारणा राखे ।
समाजवादको यात्रा महान र कठिन हुने भन्दै यसको लागि एकतावद्ध भएरमात्रै पूरा गर्न सकिने उनको भनाई छ । विगतमा एमाले र माओवादीबीच भएको एकताबारे प्रकाश पार्दै त्यतिवेला वैचारिक स्पष्टता नभएकोले विभाजनको श्रृंखला थपिएको उनको भनाई छ । एमाले र माओवादीको विभाजनले देशले ठूलो क्षति व्यहोर्नुपरेको उनले स्पष्ट पारे ।