काठमाडौं, १७ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू अब एन्फाको नेतृत्वमा नफर्किने स्पष्ट पारेका छन् । एन्फाले गरेको गल्तीको कारण आफूले विरोध गरेको उनको स्पष्टोक्ति थियो ।
उनले भने,‘मलाई अब पुग्यो, म एन्फामा फर्किन्नँ । मान्छेलाई कसैको विरोध गर्ने बित्तिक्कै फेरि यो मान्छे त्यहाँ पुग्न लाग्यो भन्छन् । म क्लियर छु, मलाई सबै चिज प्राप्त भैसकेको छ । मैले राष्ट्रिय टिममा १४, १५ वर्ष खेलें । २२ वर्ष त अनवरत रुपमा एन्फाको अध्यक्ष चलाएँ ।त्यो पनि निर्विरोध अध्यक्ष भएर पाँच टर्म चलाएँ । अनुशासन समितिमा सदस्य भएर रोनाल्डो र जिदानजस्तोलाई कारबाही गर्दा त्यहाँ बसेर काम गरें । म्यारोडोना र पेलेसँग एउटै हैसियतमा बसेर फुटबल हेरें । इरानको राष्ट्रपतिलाई हराएर एशियाको उपाध्यक्ष भएँ । मैले जीवनमा सबै चिज प्राप्त गरिसकेको छु । अब म एन्फामा फर्किन्नँ ।’
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एन्फाले धेरै साधन र स्रोत प्राप्त गर्दापनि काम गर्न नसकेको आरोप लगाए । उनले एन्फामा भ्रष्टाचार बढि भएको आरोप लगाए।