काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले कांग्रेर र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनु ठीक नभएपनि आफूहरुले राजनीतिक स्थायित्वको लागि वर्तमान सरकारलाइ समर्थन गरेको स्पष्ट पारेका छन् । उनले तत्कालै सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था नआएको बताएका छन् ।
उनले सरकारलाई दिएको समर्थन जारी नै रहेको सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सरकारमा गइहाल्ने अवस्थामा पनि नपुगेको बताए ।
सुमनले सिके राउत नेतृत्वको जनमत पार्टीले काँचो राजनीतिक व्यवहार देखाएको आरोप लगाए । सरकारलाई समर्थन गरेकै आधारमा जनमत पार्टीेले मधेश सरकारको नेतृत्व गरेको भएपनि विभिन्न समयमा सरकारविरुद्ध नै सार्वजनिक रुपमा आलोचना गर्नु गलत भएको उनको टिप्पणी छ । सिके राउतहरुले सरकारमा बस्ने र क्रान्तिकारी कुरापनि एकसाथ गर्ने गरेकोमा उनले आपत्ति जनाए ।