झापा, कार्तिक १९ । झापामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । यही कात्तिक १६ गते शुक्रबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले ठक्कर दिएका साइकल यात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्काको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनापछि बस र बस चालक धनकुटा चौबिसे गाउँपालिका–३ सोगुम बस्ने ४३ वर्षीय शुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, शुक्रबार साँझ झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ४० वर्षीय कमानसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खामध्ये अस्मिनको बी एन्ड सी हस्पिटलमै उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए।
दुर्घटनामा घाइते मोटरसाइकल चालक झापा गाउँपालिका ४ लसुना बस्ने २५ वर्षीय सुरजप्रसाद गणेशको शरणामती हेल्थ केयरमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरी चौकी शरणामतीमा राखिएको सोडारीले बताए ।