काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन संसद्को पूरै अवधि चल्ने दाबी गरेका छन् । उनले भने,‘यो गठबन्धन संद्को पूरै अवधि चल्छ । गठबन्धन भएपछि अलिअलि विवाद त भैहाल्छ नि । आफ्नै पार्टीभित्र त विवाद हुन्छ, अनि दुई वटा पार्टी मिलेर सरकार चलाएपछि अलिअलि विवाद र समस्या त आईहाल्छ नि ।’
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे । उनले भने,‘अलिअलि विवाद छ, त्यो समाधान हुन्छ । अहिले समाधान नै हुन नसक्ने विवाद आएको छैन् ।’ उनले चिनियाँ परियोजना बीआरआई ऋणमा लिन नसकिने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि बीआरआई ऋणमा नलिने उनको विश्वास छ ।
उनले भने,‘बीआरआई ऋणमा लिनुहुँदैन, यो कांग्रेसको बटमलाईन हो । प्रधानमन्त्रीले पनि ऋणमा लिनुहुन्न भन्ने हामीलाई विश्वास छ । उहाँले पनि बुझ्नुभएको छ कि नेपालको ऋणको भोलुमपनि ठूलो भैराखेको छ । अहिले बीआरआई प्रोजेक्ट हामीले ऋणमा लिने अवस्थामा छैैनौं । अनुदानमा हो भने लिने हो । होईन भने ऋणमा यो लिन सकिँदैन् । बीआरआईभन्दा सस्तोमा हामीलाई एडिबी र विश्व बैंकले पनि पैसा दिएका छन् नि । नेपालले ऋणमा बीआरआई लिने कुरा हुँदैन् । प्रधानमन्त्रीज्यूले पनि हाम्रो सभापति शेरबहादुर देउवाज्यूसँग सल्लाह गरेर नै निर्णय गर्ने हो नि । उहाँले एकल निर्णय लिन सक्नुहुन्न ।’