Logo

निगमले भोलीदेखि भैरहवा–दुबई उडान सुरु गर्ने



काठमाडौं, कार्तिक २२ । नेपाल वायुसेवा निगमले भोली शुक्रबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडान गर्ने भएको छ । निगमले साताको चार दिन भैरहवा–दुबई उडान गर्न लागेको हो । निगमले आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान गर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्नेछ ।

भैरहवा विमानस्थलबाट निगमसँगै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको वायुसेवा थाई एयर एसियाले नियमित उडान गर्ने तय भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थलबाट यसअघि नै थाई एयर एसियाले कात्तिक १८ गतेदेखि उडान सुरु गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एअर एसियाले भैरहवाबाट साताको दुई दिन उडान गर्ने छ । भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुवाती भाडा दर १२ हजार रुपियाँ रहेको छ ।

त्यस्तै कात्तिक २४ गते फ्लाई दुबई र कात्तिक २५ गतेदेखि जजिरा एयरवेजले उडान गर्ने तय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हाल भैरहवाबाट नेपाल एयरलाइन्ससहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । त्यस्तै कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन इच्छुक रहेको सूचना अधिकारी भुलले जानकारी दिए । उनीहरूको उडान तालिका भने स्वीकृत भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्