काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) विदेश विभागका सदस्य गोपाल खनालले रूस र युक्रेनबीच जारी रहेको युद्ध रोक्न सफल भएमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमात्रै नभएर विश्वको हिरो बन्ने बताएका छन् । अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रूस–युक्रेन र इजरायल, प्यालेस्टाइनबीच रहेको युद्धको अन्य गर्न सफल भएमा ट्रम्प विश्वमा ऐतिहासिक राष्ट्रपति बन्ने बताएका हुन् ।
‘अमेरिकको राष्ट्रपतिमा ट्रम्प आउँदै गर्दा तीन वटा कुरा साह्रै महत्वपूर्ण छ । उहाँले निर्वाचनको बेला पनि भन्नुभएको छ– रूस र युक्रेनबीचको युद्ध म एक दिनभित्र अन्त्य गर्छु भन्नुभएको छ । यद्यपि, त्यो युद्ध कसरी अन्त्य हुन्छ भन्नुभएको छैन ।’ उनले भने, ‘यदि ट्रम्पले यो युद्ध जसका कारण विश्वनै विभाजित भएको छ, यदि उहाँले यो युद्ध अन्त्य गर्न सक्नुभयो भने अमेरिकाको राष्ट्रपतिमात्रै होईन विश्वकै हिरो बन्नुहुन्छ । यति नै महत्वपूर्ण विषय इजरायल, प्यालेस्टाइनी युद्ध पनि छ । उहाँले यी युद्ध अन्त्य गराउन सक्नुभयो भने विश्वमा उहाँ ऐतिहासिक राष्ट्रपतिको रुपमा प्रमाणित हुनुहुनेछ ।’
नेता खनालले दुनियाँमा हुने युद्धको समाधान कुटनीतिक रुपले वार्ताको माध्यमबाटै गनै सकिन्छ भन्ने पक्षमा ट्रम्प रहेको बताए । उनले अमेरिका र चीनबीचमा रहेको व्यपारको युद्धलाई समेत ट्रम्पले सन्तुलनमा ल्याउने विश्वास व्यक्त गरे । ट्रम्पको कार्यकालमा अमेरिका र चीनको सम्बन्ध थप प्रतिकूलतातिर गयो भने त्यसको बाछिट्टाहरु नेपालमा पर्नसक्ने उनले बताए ।
‘ट्रम्पले चीन सम्बन्धलाई अहिलेकै अमेरिकी नीतिलाई निरन्तरता दिएर थप अनुदार भएभने यसले स्वभाविक रुपमा द्वन्द्व सिर्जना गर्छ । जसको प्रभाव नेपालमा पनि पर्नसक्छ,’– नेता खनालले भने ।