काठमाडौं, कार्तिक २४ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् ।
गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित गणेशमान सिंह ११० औ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संवोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।
‘मानवजीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, राष्ट्रपति पौडेलले भने “ लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन ।”
मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै संभव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
उनले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति वेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए। राष्ट्रपति पौडेलले भने “गणेशमामजी साहसी वीर र संघर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।”
नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उनले बताए। उनले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन नसक्ने बताए ।