Logo

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा नबोलाएको विषयमा आनन्द पोखरेलको टिप्पणी : नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ, अब राष्ट्रिय स्वाभिमान बाँच्छ



‘हवाई भाडादर घटाउन मन्त्रीले नसके प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्छ’

काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणमा नबोलाउनुलाई ‘नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ’ भनेर टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा सरकार नै टिक्दैन भनेर गरिएको चर्चापनि पानीको फोका हुने उनको दाबी छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणमा नबोलाएको विषयमा भने आफू खुशी रहेको सुनाए । उनले भने,‘नेपालमा नयाँ सरकार बन्नेबित्तिकै भारतको भ्रमणमा जानुपर्ने परम्परा छ भनेर नेपालका मिडिया र थिंक ट्यांकले बताउने गर्छन् । केपी ओलीलाई भारतले बोलाएन, केपी ओलीलाई भारतले पत्याउँदैन भनेर प्रचार गर्ने गरिएको पनि छ । म यसबारेमा बहुत खुशी छु । कुनै मुलुकले एउटा सार्वभौमसत्तासम्पन्न मुलुकमा पत्याउँछ कि पत्याउँदैन भनेर छलफल र बहस गर्ने, कसले बोलायो र कसले बोलाएन भनेर अनि कसले अनुमोदन गरेको छैन भनेर जुन प्रचार गरिन्छ, त्यो प्रचार गर्ने, लेख्ने र भन्ने मान्छेहरु नेपाली टोपी लगाएर अर्काको सेवा गर्ने मानसिक दास हुन भन्न चाहन्छु । अहिले भारतले बोलाएनछ, कम्तिमा नेपाल बल्ल सार्वभौमसत्तासम्पन्न भएछ । र, प्रधानमन्त्री कसैको दलाली गर्नुहुँदैन रहेछ भन्ने कुरो देखियो । अब राष्ट्रिय स्वाभिमान बाँच्छ भन्ने कुरा राख्न चाहन्छु ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको सरकारले आफ्नो अवधि पूरा गर्ने भन्दै तत्काल सरकार तलमाथि नहुने ठोकुवा गरे । उनले भने,‘भारतले प्रधानमन्त्रीलाई बोलाएन भनेर यो सरकार टिक्दैन भन्ने चर्चापनि गरिएका छन् । यी सबै चर्चा पानीका फोका हुन्छन्, यो सरकारले आफ्नो अवधि पूरा गर्छ ।’

सो क्रममा नेता पोखरेलले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा नेपाल सरकारले व्यापक तयारी गरेर भ्रमणबाट लाभ लिनुपर्ने सुझाव दिए । उनले भने,‘प्रधानमन्त्रीको चीनको भ्रमण आगामी डिसेम्बरबाट हुँदैछ, म चार वटा कुरामा ध्यान दिन आग्रह गर्छु, पहिलो चीनसँगको हाम्रो परम्परागत कुटनीतिक सम्बन्ध जो छ, के खालका समस्या छन् भनेर पूनरावलोकन गरिनुपर्छ, दोस्रो कुरा चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउँदा नेपाल आउँदा १८ वटा आयोजनामा एमओयु र २ वटामा लेटर अफ एक्सचेन्ज भएका छन् । ती चीजलाई किन कार्यान्वयन भएन भनेर होमवर्क गर्नुपर्छ । नेपालको तर्फबाट एजेण्डा लिएर जानुपर्छ । तेस्रो कुरा भनेको बीआरआईको फ्रेमवर्क सम्झौता हामीले सन् २०१७ मा गरेका छौं । त्यसमा हामीले कनेक्टिभिटीमा जोड दिएका छौं । यो भ्रमणमा बीआरआईमा कार्यान्वयनको सम्झौता गर्नुपर्छ । चौथो कुरा व्यापार घाटाको विषयमा हामीले चीनसँग सहुलिय लिनुपर्छ । पाँचौं कुरा भनेको पोखरा एयरपोर्ट बनाउँदा लिईएको चिनियाँ ऋणलाई मिनाहा गर्न पहल गर्नुपर्छ, यसमा चीनले उदारता देखाउनुपर्छ । चिनियाँ सरकारको यतातर्फ ध्यान दिनुपर्छ । नेपालले चीनको सार्वभौमसत्ता रक्षाको लागि १३औं शताब्दीदेखि योगदान गरेको छ । अहिले पनि चीनविरुद्ध हामीले हाम्रो भूमि प्रयोग हुन दिएका छैनौं । त्यसको पारस्परिक सपोर्टको लागि चीनले पोखराको ऋण मिनाहा गर्नुपर्छ ।’

उनले नेपालमा रेलवे कनेन्टिभिटी आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘प्रधानमन्त्रीज्यूको यो भ्रमणमा केरुङ–टु काठमाडौं, काठमाडौं–टु–लुम्बिनीसम्मको हामीलाई रेलवेको कनेक्टिभिटी चाहिन्छ । कांग्रेसले ऋण लिनुहुँदैन् र अनुदान लिनुपर्छ भनेको छ । हामीले ऋण लिने कुरामा पनि घटाघटमा जानुपर्छ ।’

पूर्वमन्त्री पोखरेले अहिले नेपालमा भैरहेको हवाई भाडादर महँगो विषयमा सरकारले गम्भीर पहलकदमी चाल्नुपर्नेमा जोड दिए । उनले विभागीय मन्त्रीले यो विषय हल गर्न नसके प्रधानमन्त्रीले सिधै हस्तक्षेप गर्नुपर्ने पनि सुझाए । उनले भने,‘हवाई भाडादर महँगो विषय म प्रधानमन्त्रीज्यू र पार्टीसँग राख्छु । नेपालको पर्यटन क्षेत्रको विकास गर्नुपर्छ । नेपालको समृद्धिको लागि कृषि र जलस्रोत नभएर नेपालको पर्यटन क्षेत्र हो । यो क्षेत्रमा डिमाण्ड कहिल्यै घट्दैन् । पर्यटन नेपालको महत्वपूर्ण इकोनोमिक पिलर हो । अहिले पर्यटनको सिजन हो । नेपालीहरु वैदेशिक रोजगारीमा जानेको सिजन हो । यो सिजमा यो खालको अस्तव्यस्त हुनु र एयरलाईन्सले जबरजस्ती भाडा वृद्धि गरेर नेपाली जनतालाई शोषण गरेर, नेपाली जनतालाई एक ढंगले पर्यटन आउने कुरालाई नाकाबन्दी लगाउने काम गरेका छन् । र नेपालको अर्थतन्त्र कोल्याप्स गर्ने काम गरेका छन्, यसबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीको गम्भीर रुपमा ध्यान जानुपर्छ ।’

उनले आफूले हवाई भाडादर बढेको विषयमा आफूले नागरिक उड्ययन प्राधिकरणका महादिर्नेशक प्रदीप अधिकराीसँग कुरा राखेको पनि स्मरण गराए । उनले भने,‘मैले यो विषयमा क्यानका डिजी प्रदीप अधिकारीसँग सोधेको थिएँ, उहाँले यो समस्या क्रियशन गर्ने एयर अरयिबा, कतार र दुवई एयरवेजले हो, तीन वटा एयरलाईन्सले मनोमानी ढंगले भाडा बढाएका छन्, अरुले समस्या होइन र आन्तरिक रुपमा भाडा बढेको छैन् भन्नुभयो । भाडा बढेको कुरा आम नागरिकको चासोको विषय हो । सरकारले तत्कालै गोलमेच सम्मेलन गरेर भाडा किन बढ्यो भनेर छलफल गर्नुपर्छ । यसमा लाईन मिनिस्टरले सक्दैनन् भने प्रधानमन्त्रीले सिधै हस्तक्षेप गर्नुपर्छ ।’

उनले अहिलेको नेपालको राजनीतिक, आर्थिक, सामाजिक परिवेशको चर्चा गर्दै यो परिवेशमा नेपाललाई र नेपाल सरकारलाई घेराबन्दी गरेर कमजोर बनाउन खोजेको हो कि भन्ने आफूलाई आशंका लागिरहेको आरोप लगाए । उनले भने,‘किनभने हिजो ०७२ मा हामीले नाकाबन्दी भोगेका थियौं । अहिले एयरलान्यसल र ट्राभल एजेन्सीहरुले अनुचित ढंगले नियमन नगरी भाडा बढाएका छन् । यो अशोभनीय हो । एयर ब्लकेड बनाउने सोच बनाएका छन् । आईकाओसँग पनि छलफल गरेर नियमन गरेर निरुपण गर्नुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नती गर्दा दिनका ७÷८ वटा फ्लाईट चाहीँ कटौती भएको जानकारी छ । तीन वटा एयरलाईन्सबाहेक अरु सहज भएको छ । सरकारले गल्ती गर्ने एयरलाईन्सलाई कारबाही गर्नुपर्छ ।’

फरक प्रसँगमा मानव तस्करीमा मुछिएका पार्टीका नेता लिलाबल्लभ अधिकारीलाई आजबाट पार्टीको सबैखाले जिम्मेवारीबाट मुक्त गरिएको स्पष्ट पारे । उनले भने,‘पार्टीले उहाँलाई सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । कारबाही गरेको छ । एमाले सहकारी ठगी प्रकरण, मानव तस्करी वा किर्तेमा होस, एमाले सबैलाई कारबाही गर्छ । टोपबहादुरलाई पनि कारबाही गरेका छौं । एमाले सुशासनको पक्षमा छ । कसैलाई पनि गल्ती गर्नेहरुलाई कारबाही गर्ने कुरामा छुट दिँदैन् । अहिले बलियो सरकार छ । सरकारको उपस्थिति जनताले अनुभुत गर्नेगरि सुशासन कायम गर्नेगरि काम अघि बढाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्