Logo

हवाई भाडादर बढेकोमा एयरलाईन्सलाई गाली नगरौं, सरकारले विज्ञहरुसँग छलफल गरेर समाधान गर्नुपर्छ : प्रा. डा. गान्धी पण्डित



काठमाडौं, २४ कार्तिक ।  वरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले अहिले देखिएको हवाई भाडाको महँगी तत्काल घटाउनेगरि सरकारले पहलकदमी लिनुपर्नेमा बताएका छन् । उनले नेपाली श्रमिकहरु हवाई भाडादर महँगो हुँदा धेरै ठूलो मारमा परेको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले सरकारले तत्काल कदम चालेर हवाई भाडादर घटाउनुपर्ने बताए । उनले भने,‘हाम्रा नेपाली श्रमिकहरुको लागि विभिन्न गन्तव्यको लागि भाडा महँगोमा परेका छन् । अन्तर्राष्ट्रिय वायु सेवाले गर्ने सेवामा एउटा देशको कानून र नीतिले मात्रै हुँदैन् । हामी आईकाओको मेम्बर स्टेट हौं । आईकाओले दिएको गाईडलाईनबाट हामी चल्नुपर्छ । सबै एयरलायन्स चलेका हुन्छन् । उसले फ्रि–मार्केट र फ्रि–इकानोमाीमा विश्वास गर्छ । अहिले ३० देखि ४० हजार पर्ने टिकट रातारात बढेर एक लाख पुग्नु राम्रो होईन । यसमा क्यान चनाखो हुनुपर्छ । सरकारपनि चनाखो हुनुपर्छ ।’

उनले हवाई भाडादर महँगो भयो भनेर एयरलाइन्सहरुविरुद्ध खनिनुपनि राम्रो नहुने तर्क गरे । उनले हवाई भाडादर विभिन्न कारणले बढ्ने हुँदा त्यसको बास्तविकता बुझ्नुपर्ने सुझाए । उनले भने,‘अहिले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती भैरहेको छ, त्यो काम हुँदा फ्लाईट कटौती भएका छन् । एयरपोर्ट नै दैनिक १० घण्टा बन्द हुँदा प्लेन कम आउँछन् । टिकटको भाउ बढ्छ । दर बढायो भने एयरलाईन्सलाई गाली गर्ने होईन । यसलाई सम्बोधन गर्नको लागि सरकारले सोच्नुपर्छ । बरु, काठमाडौंको फ्लाईटलाई भैरहवा वा पोखरा डाईभर्ट गर्नुपर्छ । सरकारले उड्ने दस्तुर फ्रि गराईदिन सक्छ । हामीसँग पर्याप्त जहाज छैनन् । विदेशी जहाज आउँछन् । देशमै पर्याप्त जहाज भएको भए अहिले हवाई भाडादर बढ्दैन थियो ।’

नेपालको आन्तरिक पर्यटन व्यवसायको लागि पनि आफ्नै देशको एयरलाईन्स बढि हुनुपर्ने उनको तर्क छ । उनले भने,‘नेपाल एयरलायन्समा ठूलो राजनीति छ । यो देशमा प्लेन किन्यो कि भ्रष्टाचार हुन्छ । जुनपनि टेण्डरमा भ्रष्टाचार हुने ? किन यस्तो भैरहेको छ? कसैले अब प्लेन किन्नै सक्दैन् । त्यहाँ त काम गरे भ्रष्टाचार हुन्छ । नगरे पुरस्कार पाईन्छ । अनि कसरी संस्था चल्छ ? नेपाल सरकारले अब एउटा नीति ल्याउनुपर्छ । भैरहवा विमानस्थलमा फ्लाईट डाइभर्ट गराऔं । बरु, जहाज ल्याण्डिङ गरेवापत पैसा नलिनुहोस । एयरलायन्स र सरकारलाई मात्रै गाली गरेर अहिलेको भाडादर महँगो भएको समस्या समाधान हुँदैन् । विज्ञहरुसँग छलफल गरेर निकास निकाल्नुपर्छ । सरकारले गम्भीर भएर यो समस्यालाई तुरुन्त समाधान गर्नुपर्छ । तत्काल भाडादर घटाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्