काठमाडौं, २५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार हुनुको मूल कारण प्रणाली नै रहेको बताएका छन् ।
आज ( आइतबार) मकवानपुरको थाहा नगरपालिकामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारको चुरो कारण चाहिँ सिस्टममै छ । सांसद हुनका लागि ठूलो धनराशि खर्च गर्नुपर्ने, अनि सांसद भएपछि मन्त्री हुनैपर्ने,’- प्रचण्डले भने ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारको विरुद्ध फाइल खोल्दै गर्दा कांग्रेस- एमाले मिलेर हटाइएको उनले बताए । माओवादीले अब सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दा जनतामाझ लिएर जाने पनि उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्धको आन्दोलनको नेतृत्व गर्न नसक्ने प्रचण्डको जिकिर छ । त्यस्तै, पूर्व प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमालेले संविधान संशोधनको चर्चा गर्दा पछाडि फर्किने गन्ध आएकोसमेत बताए ।