काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् ।
यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट तीन सय चार जना प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसंगठनहरूबाट निर्धारण गरेबमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । यसरी छनोट भएका प्रतिनिधिमध्ये समावेशी, दलित, जनजाति र अन्य गरी दुई सय ५३ छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने अधिवेशनमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयमा छलफल गरिनेछ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा गरिएको कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।
यसैगरी, पार्टीले संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गर्ने भएको छ । नेताहरूको क्षमता, विगतका कार्य सम्पादनको मूल्यांकन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा सांगठनिक भूमिकाको कार्य विभाजनको गृहकार्य गरेको छ ।
समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पार्टी केन्द्रीय सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।