काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रीहरु फेर्ने तयारीमा जुटेका छन् । एमालेनिकट उच्च स्रोतले जनाएअनुसार एक साताभित्रै केही मन्त्रीहरु फेर्नेगरि प्रधानमन्त्री ओलीले गृहकार्य गरेका छन् । यसको लागि उनले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुसँग छलफल गरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले काम गर्न नसकेका र उनीहरुको कारण सरकारमाथि आलोचनामात्रै थुप्रिने काम भएको निश्कर्ष निकालेर ती मन्त्रीहरुको जिम्मेवारी खोस्न लागेका हुन् । संघीय मामिला मन्त्रालयको नेतृत्व लिएका राजकुमार गुप्तादेखि पर्यटन मन्त्रालयको नेतृत्व लिएका बद्रिप्रसाद पाण्डेसम्मको जिम्मेवारी खोसिने बुझिएको छ ।
गुप्ताले मन्त्रालयको नेतृत्व कुशल ढंगले सम्हाल्न नसकेको प्रधानमन्त्री ओलीको बुझाई छ । उता, कांग्रेसबाट पर्यटन मन्त्रालयको जिम्मा लिएका पाण्डेको भूमिकालाई लिएर स्वयम कांग्रेसकै सांसदहरुले सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन् । पाण्डेको कर्मचारीसामू निरीह सावित भएको कांग्रेस नेतृत्वकै बुझाई छ ।
संघीय मामिलाबाट गुप्ताको जिम्मेवारी खोसेपछि प्रधानमन्त्री ओलीले मधेशबाटै प्रतिनिधित्व गर्ने सांसदलाई सो जिम्मेवारी प्रदान गर्न लागेका छन् । त्यसको लागि उनले ज्वाला साह र जुलीकुमारी महतोमध्ये एकलाई सो जिम्मेवारी प्रदान गर्नसक्ने चर्चा चलेको छ । उता, पर्यटनमन्त्रीको जिम्मेवारीबाट पाण्डेलाई हटाईए कांग्रेसबाट उदयशमशेर जबरा, राजेन्द्र बजगाईं वा राजन केसीमध्ये एकलाई जिम्मेवारी दिईनेगरि तयारी थालिएको चर्चा छ ।