काठमाडौं, २५ कार्तिक । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले आगामी मंसिर १ गते मधेश प्रदेश र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साहले आज (आइतबार) एक विज्ञप्ती जारी गरी पार्टीले आगामी मंसिर १ गते काठमाडौंमा विशेष प्रदर्शन गर्न लागिएको जानकारी गराएका हुन् ।
मधेश प्रदेशमा भने पार्टीको मधेश प्रदेश कमिटीको विशेष संयोजनमा देशमा बढ्दो लुट–आतंक, भ्रष्टाचार एवम् विभेदविरुद्ध ‘मधेश जागरण’ अभियान सञ्चालन गर्ने सो दलको घोषणा छ । नेपालमा अहिले तीन तहका सरकारले सरकारपिच्छे नै जनतामा मनपरी कर लादेको आजपाको आरोप छ। आजपाले देशव्यापी रुपमा शून्य कर नीति लागु गरिनुपर्ने अडान लिएको छ ।