काठमाडौं, २६ कार्तिक । उर्जामन्त्री दीपक खड्काले अहिले विहान ११ बजे मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले विद्युत बक्यौतासम्बन्धी लिएको निर्णयका सम्बन्धमा मन्त्री खड्काले थप प्रष्ट पार्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
क्याविनेट बैठकले उद्योगहरुको काटिएको विद्युत आज (सोमबार) दिउँसो १२ बजेसम्म जोड्न निर्देशन दिएको थियो। यस्तै, बैठकले डेडिकेटेड र ट्रङ्क लाइन विवादमा १५ दिनभित्र उद्योगहरूले खपत गरेको विद्युत्को बक्यौता रकम बिल अनुसार असुल गर्ने निर्णयसमेत गरेको थियो ।
तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत बक्यौता विवादबारे हिजोको मन्त्रिपरिषद्ले गरेको निर्णय आफूकहाँ आइएनसकेको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय प्राधिकरणमा आएपछि के गर्ने भन्नेबारे निर्णय गरिने प्रतिक्रिया दिए ।
उनले भने,”क्याविनेटको निर्णय पहिला आउनुपर्यो, अहिलेसम्म आईपुगेको छैन् । मिडियामार्फत थाहा पाएको हुँ । त्यो निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि म आफ्नो काम गर्छु । अहिले निर्णय नै आईपुगेको छैन् ।” file photo