Logo

रवि लामिछानेमाथि छानबिन गर, तर राजनीतिक पूर्वाग्रह नसाँध : दिनानाथ शर्मा (भिडिओसहित)



काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले आफ्नो पार्टी अहिले सरकार ढाल्ने वा बनाउने पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले आफूहरु सरकारको राम्रो कामको समर्थन गर्ने र नराम्रो कामको आलोचना गर्नेगरि अघि बढेको सुनाए । उनले ०८४ सम्म पार्टी सरकारमा नजाने स्पष्ट पारे ।

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले ०८४ को निर्वाचनमा जनताले बहुमत दिए सरकार बनाउने विषयमा सोच्ने सुनाए । उनले आफूहरु परिवर्तन गरेर सत्तामा गएको दृष्टान्त सुनाए ।

उनले नेपालको राजनीतिमा सबैभन्दा बढि त्याग गर्नसक्ने पार्टी नै माओवादी भएको दाबी गरे । उनले कांग्रेस र एमालेको सत्ता गठबन्धनको कामबाट जनता खुशी नभएको टिप्पणी गरे । उनले एमाले नेता लिलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न भएको घट्नाले राष्ट्रको शीर निहुरिएको बताए । तर, मिडियाको कारण अधिकारी अहिले कारबाहीको प्रक्रियामा तानिएको भन्दै शर्माले मिडियालाई धन्यवाद दिए ।

शर्माले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिन गर्दा आफूहरुलाई आपत्तिको विषय नभएको बताए । तर, लामिछानेमाथि राजनीतिक पूर्वाग्रह भने नसाँध्न सरकारलाई आफूहरुले खबरदारी गरेको उनको भनाई छ ।

उनले भने,‘सहकारी पीडितहरुले न्याय पाउनुपर्छ । केवल रास्वपाको उ मात्रै होईन, त्यो भन्दा पहिले कति कांग्रेस र एमालेकै नेताहरुकै संलग्न भएका सहकारीहरुले ठगेर खाएका छन् । सबैभन्दा पार्टीकै व्यक्तिहरु नै छन्, यहाँ त ठगेर खानेमा । माओवादीका छन् भने पनि पक्र । कठघरामा हाल । पार्टीको नाममा लुटेर र भ्रष्टाचार गरेर खाने ? यो राम्रो हुन्छ ? अरबौं अरबौं ठगेर खाने ? मानव तस्करी गर्ने ? यो नालायकीपन हो ।’



प्रतिक्रिया दिनुहोस्