काठमाडौं, कार्तिक २७ । आज हरिबोधनी अर्थात ठूलो एकादशी। हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन। आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदै छ। घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ।
घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन। अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ।
असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु आज निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वास छ। आज ब्रतालुहरु तीर्थमा नुहाई तरुल, सकरखण्ड तथा फलफूल मात्रै ग्रहण गरी बस्ने गर्दछन। ठूलो एकादशीको अवसरमा धादिङको गंगाजमुना, काभ्रेको बलथली लगायत देशभरका तीर्थस्थलहरुमा ब्रतालुहरुको घुईचो लागेको छ। खाशगरी कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पूजा गरेमा पूण्य मिल्ने धार्मिक बिश्वास छ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्।
विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन। तस्विर: रासस