Logo

५ घण्टादेखि पोखरा विमानस्थलमै रोकिए रवि लामिछाने



काठमाडौं, कार्तिक २७ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच घण्टादेखि पोखरा क्षत्रिए अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् । लामिछानेलाई भैरहवा लैजानका लागि कास्की प्रहरीले उनलाई पोखरा विमानस्थल पुर्‍याएको छ । तर प्रतिकुल मौसमका कारण पाँच घण्टादेखि उडान भने हुन सकेको छैन ।

बुध्द एयरको बिहान सात बजेको उडानबाट लामिछानेलाई भैरहवा विमानस्थल लैजाने कार्यक्रम थियो । त्यसका लागि लामिछानेलाई विमानस्थलमा लगिसकिएको छ । विमानस्थलको मौसम प्रतिकुल रहेको र कुहिरो लागेकाले उडान ढिलो भएपछि उनी विमानस्थ्लमै रोकिएका हुन् ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको बचत रकम तथा ऋण हिनामिना गरेको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउका लागि अदालतबाट अनुमति लिएको थियो । कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडे जोशी लगायतलाई पक्राउ गर्न जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले अनुमति दिएको थियो ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र त्यसको खर्च लामिछानेको हस्ताक्षरमा भएको भन्दै त्यसको अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्