Logo

राष्ट्रसङ्घका महासचिवले आज राष्ट्रपतिसँग शिष्टाचार भेट गर्दै



काठमाडौं, कार्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आज शिष्टाचार भेटवार्ता हुने भएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा अजरवैजानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रसङ्घका महासचिव गुटेरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै छन्। उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ ।

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही सहभागी रहनेछन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार त्यहाँ पुगेका हुन् ।

सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू सहभागी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्