काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसमा कोइराला परिवार तीनतिर बाँडिएको छ । अहिले शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइराला तिनतिर छरिएका छन् । १४औं महाधिवशेनमा यी तिनै जना नेता तीन बेग्लाबेग्लै कित्तामा उभिए । जसको कारण शेखरले सभापतिमा शेरबहादुर देउवासँग पराजय भोग्नुपरेको चर्चा छ ।
तर, १५औं महाधिवेशन नजिकिएसँगै यी तीन नेताबीच सम्बन्धमा उल्लेख्य सुधार आएको छ । सुजाताले नै शेखर र शशांकलाई एउटै कित्तामा उभ्याउने कडा मेहनत गरेकी छिन् । कहिले सँगै डिनर त कहिले लञ्च गराएर उनले शेखर र शशांकबीच सम्बन्ध सुधारको लागि सेतुको काम गरेकी छिन् । अहिले संसद्मा सुजाताको प्रतिनिधित्व छैन् । उनी ०७९ को निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भईन् । तर, शेखर र शशांक दुवै सदनमा प्रतिनिधित्व गर्छन् ।
पार्टीको १५औं महाधिवेशनमा शेखरले पूनः भिड्ने तयारी गरिसकेका छन् । शशांकको साथ पाउने हो भने शेखरले सभापतिमा बाजी मार्ने सुजाताको बुझाई छ । यसैले उनले आफूसहित तीनै जना कोइराला परिवारका नेता एक ठाउँमा उभिनसके नेतृत्व कोइराला परिवारमा आउने विश्वास लिएकी छिन् ।
शशांकले भने सभापति शेरबहादुर देउवासँग दोस्ती बढाएका छन् । यस्तो बेलामा सुजाताले कोइराला परिवार एक ठाउँमा उभिनुपर्ने र शेखरलाई सघाउनुपर्ने मत राखेको उनीनिकट विश्वस्त स्रोतको दाबी छ । शेखरको कित्तामा अहिले देउवा पक्षधर नेताहरुपनि खुल्न थालेको चर्चा चलेको छ । सभापतिमा शेखर समूहका नेता गगन थापाले पनि उम्मेद्वारी हल्ला छ । गगन यतिवेला देउवा क्याम्पमा पुगेको पनि त्यत्तिकै चर्चा छ । शेखर समूहबाटै महामन्त्रीमा लोकप्रिय मतसहित जितेका गगनले पछिल्लो समय शेखरको साथ छोडेको भन्दै कोइराला पक्षधर नेताहरु असन्तुष्ट छन् ।
महाधिवेशन निर्धारित समयमा नै हुनुपर्ने शेखरको अडान छ । सभापति देउवाले पनि तोकिएकै मितिमा महाधिवेशन हुनेमा शंका नगर्न भनेका छन् । १५औं महाधिवेशनमा देउवाले आफ्नो समूहबाट कसलाई सभापतिमा अघि सार्छन् त्यो हेर्न बाँकी रहेको देउवा पक्षधर नेताहरुको भनाई छ ।
उनीहरु अहिलेसम्म देउवाले आफ्नो उत्तराधिकारी को हुने ? भनेर मुख खोलेका छैनन् । तर, देउवा पक्षधर नेताहरु गगनलाई आफ्नो गुटमा सर्वस्विकार्य नेता मान्न तयार नभएको चर्चा अहिले नै चलिसकेको छ । बालकृष्ण खाँण, विमलेन्द्र निधि, मोहनबहादुर बस्नेतले १५औं महाधिवेशनमा कित्ता परिवर्तन गर्नसक्ने चर्चा चलिरहेको छ ।
१५औं महाधिवेशनलाई ध्यानमा राखेर सुजाताले भने कोइराला परिवार एक ठाउँमा उभिनुपर्ने मत राख्न थालेकी छिन् । उनले आफ्नो सक्रियता र भेटवार्तालाई पनि त्यसमै बढि उपयोग गरिरहेकी छिन् । उनले शशांकलाई विश्वास लिएर शेखरको पक्षमा उभ्याउन प्रयत्न गरेको बुझिएको छ ।