काठमाडौं, कार्तिक २९ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको बीबीसीले जनाएको छ । अमेरिकी राजनीतिमा चुनावपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।
यो भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए। बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पारेको जनाएका छन् । ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः फर्किन पाउदा खुशी लागेको उल्लेख गर्दै सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् ।
गएको नोभेम्बर ५ तारिखमा भएको चुनावमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।