Logo

गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र



काठमाडौं, २९ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई खुलापत्र लेखेका छन् । उनले फेशबुकमार्फत उक्त पत्र सार्वजनिकसमेत गरेका छन् । जसमा उनले थापाले राजनीतिक नियुक्तीको बचाउ गरेकोमा आलोचना गरेका छन् ।

मिश्रले २०७२ मा जारी भएको संविधानलाई ‘प्रचण्डे’ को संविधानको संज्ञा दिँदै भनेका छन्–‘तपाईंहरूले बनाएको ूृप्रचण्डेको संविधान २०७२ू ले नै सर्वोच्च अदालत लगायतका संवैधानिक निकायमा राजनीतिक भागबण्डालाई सुनिश्चित गरिदिएको छ। तपाईंहरूले बनाएको कानूनले सरकारी वेतनधारी र पेशाकर्मीहरूको दलीयू भातृ संगठनलाई सुनिश्चित गरिदिएको छ।’

यस्तो छ मिश्रले थापालाई लेखेको खुलापत्र

गगन थापालाई छोटो खुलापत्र!
१। तपाईंजत्तिको राजनीतिकर्मीले यति पतित राजनीति भएको देशमा राजनीतिक नियुक्तिको त्यति जोडदाररूपमा बचाऊ गरेको सुन्दा अत्यन्तै, अत्यन्तै दुखी छु।
२। तपाईंले “थुप्रै अरू democracy को अभ्यास भएका ठाऊँ” भनेर ‘असल प्रजातन्त्र’को अभ्यास भएको देशको उदाहरण दिन चाहानुभएको हो भने, तपाईंले बुझ्न जरूरी छ कि ती देशका राजनीतिकर्मीमा हाम्रा देशका राजनीतिकर्मी भन्दा इमान र क्षमता एक हजार गुणा बढी हुन्छ।
३। ‘असल प्रजातन्त्र’ भएको देशमा राजनीतिक नियुक्ति नै भएको हो भने पनि, अपवादलाई छोडेर, नियुक्ति पाउनेहरू इमान र विधिको एउटा तहबाट तल जाँदैनन्। त्यसै ती देश सुशासनयुक्त विकशित देश बनेका होइनन्। नेपालजस्ता देशका नागरिक मरिहत्ते गरेर जान खोज्ने देश बनेका होइनन्।
४। तपाईंहरूले बनाएको “[प्रचण्डे]को संविधान २०७२” ले नै सर्वोच्च अदालत लगायतका संवैधानिक निकायमा राजनीतिक भागबण्डालाई सुनिश्चित गरिदिएको छ। तपाईंहरूले बनाएको कानूनले सरकारी वेतनधारी र पेशाकर्मीहरूको “दलीय” भातृ संगठनलाई सुनिश्चित गरिदिएको छ।
५। तपाईंले राजनीतिक नियुक्तिको जसरी र जुन तर्क दिएर गर्वका साथ बचाऊ गर्नुभयो त्यसबाट तपाईं किन कर्मचारीतन्त्र/विश्वविद्यालयलाई राजनीतिकरण गर्न हुँदैन भन्नुहुन्छ तर सरकारी वेतनधारीको दलीय भातृ संगठन भङ्ग गर्नुपर्छ भन्नु हुँदैन भन्नेमा म प्रष्ट भएँ।
६। तपाईंले ‘असल प्रजातन्त्र’ भएको देशको उदाहरण दिन खोज्नुभएको हो भने मलाई बताइदिनोस्, संसारमा त्यस्तो कुन देश छ जसले एउटा मन्त्रालयमा ७ वटा युनियनको बोर्ड झुण्डाएर प्रगति गरेको होस्?
७। तपाईंहरूको राजनीतिले अपवादबाहेकका पत्रकारलाई त हरेक पार्टीको टोपी-संगठन बनाउन वाध्य पारिदियो र पत्रकारिताको आधारभूत मुल्य-मान्यताबाट विमुख बनाइदियो। अनि राजनीतिरूपमा नियुक्त अन्य उच्च पदाधिकारीले नियुक्तिपछि राजनीतिक टोपी फुकाल्छन् भन्ने अपेक्षा गर्ने?
८। तपाईंले भनेजस्तो नेपालको लोकतन्त्र “कतिपय ठाऊँमा” मात्र चुकेको भए तपाईंले “दोबाटोमा लोकतन्त्र” नामक बहसमा भागै लिन पर्ने थिएन र बहस गराउने कैलाश शिरोहियाले “लोकतन्त्रको आधारशीला खतरामा छ” भन्नै पर्ने थिएन। चुकेको “कतिपय ठाऊँमा” होइन। चुकेको “अधिकांश ठाऊँमा” हो, त्यसैले आज यो स्थिति आयो।
९। तर आज यो स्थिति आयो भन्दा, तपाईं उदाहरण दिनुहुन्छ लोकतन्त्र विग्रेका पाकिस्तान, बंगलादेश, श्रीलङ्का जस्तो देशको। तपाईंको न्यूनतम मापदण्ड नै ‘तल’ भएपछि तपाईंबाट ‘उचाइ’ कसरी अपेक्षा गर्ने?
१०। सारांशमा, तपाईंहरूले नेपाली कांग्रेसलाई समाजवादका केही अंश अवलम्बन गरेको “मध्य दक्षिणपन्थी” धारबाट जब पूर्णत: “प्रचण्डमार्गी मध्य-बामपन्थी” धारमा आँखा चिम्लेर रूपान्तरण गर्नुभयो, यो देश सम्हालि नसक्नु हिसाबले क्षयिकृत भएर गएको छ।
११। यो देश अस्तित्वको संकट (Existential Crisis) उन्मुख छ। भावी पुस्ताको भविष्य बर्बाद छ। भावी पुस्ता भन्नाले तपाईं र मेरा छोराछोरी भनेको होइन। उनीहरू त राम्रो स्कूल जान्छन्/गए। राम्रो विश्वविद्यालयमा पढ्छन्/पढे। मैले यो देशको संभवत: ९० प्रतिशत छोराछोरीको कुरा गरेको। देश र भावी पुस्ताको बारेमा सोच्ने कि नसोच्ने?
१२। तपाईंहरूको “राजनीतिक Sunk Cost Fallacy” बाट बाहिर ननिस्किने जिद्दी र हठले यो देश नै सिद्याउने भयो। विचार गर्नुहोला। भोली देश भड्खालोमा पर्यो भने “३० वर्षे पञ्चायति शासनकालले गर्दा यस्तो स्थिति आयो” नभन्नुहोला। बाँकी तपाईंको मर्जी!
साँच्चिकै शुभचिन्तक
रवीन्द्र मिश्र



प्रतिक्रिया दिनुहोस्