Logo

खुला सीमाले लागुऔषधको कुलतमा पर्साका युवा



वीरगञ्ज, , मंसिर १ । खुला सीमा नाकाका कारणले पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार लागुऔषध मुद्दामा अधिकांश युवा पर्ने गरेका छन् । खुला सीमानाकाको कारणले भारतबाट सहजै ढङ्गले लागुऔषध भित्रिँदा पनि यसको मारका यहाँका युवा परेका हुन् ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले खुला सीमानाकाबाट अवैध रूपमा लागुऔषध भित्रिँदा युवाहरू कुलतमा फसेको बताए । “खुला सीमानाकाको कारणले स्कुले उमेरदेखि नै यहाँका युवा कुलतमा फस्ने गरेका छन्,” उनलेभने “अहिले युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउनुपर्ने बेला भइसकेको छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको बताए। “खुला सीमानाकाको कारणले पनि यहाँका युवापुस्ता लागुऔषधको कुलतमा फस्ने गरेका छन्,” उनलेभने सामुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यार्थी तथा युवामा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।”

प्रहरी नायब उपरीक्षक भट्टले पर्साका परेका मुद्दामध्ये अधिकांश लागुऔषधसँग सम्बन्धित रहेको जानकारी दिए। “१५ देखि ४५ वर्ष उमेर समूहका युवाहरू लागुऔषधको कुलतमा पर्ने गरेको देखिएको छ,” उनले भने, “मुलुकका लागि आवश्यक पर्ने युवाशक्ति नै कुलतमा पर्दा मुलुकलाई र परिवारलाई पनि ठूलो क्षति भइरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आव २०७८/७९ मा लागुऔषधसम्बन्धी दुई सय २७ मुद्दा परेको थियो । जसमा दुई सय ८२ पुरुष र नौ महिला पक्राउ गरेका थिए ।

त्यस्तै, आव २०७९/८० मा लागुऔषध सम्बन्धित तीन सय दुईवटा मुद्दा परेको थियो । जसमा तीन सय ८९ पुरुष र १३ महिला पक्राउ परेका थिए । त्यस्तै, आव २०८०/८१ मा दुई सय चारवटा मुद्दा परेको थियो । जसमा पुरुष दुई सय ४२ र महिला १० जना पक्राउ परेका थिए ।

पर्सामा विशेषगरी गाँजा, चरेस, हेरोइन, अफिम, फेनारगन, डाईजिल्याब, नुर्फिन, नाट्राभेट ट्याब्लेट, कोरेक्सलगायत प्रयोग गर्ने गर्छन् । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले पर्सा प्रहरीले लागुऔषधको दुव्र्यसनीको विरुद्धमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए।

“पर्सा प्रहरीले नागरिक समाजसँग हातेमालो गरेर लागुऔषध सम्बन्धित जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ,” उनलेभने“खुला सीमानाकाको कारणले पनि लागुऔषधको दुव्र्यसनीलाई नियन्त्रण गर्न मुस्किल भइरहेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्