काठमाडौं, १ मंसिर । सिरुवा कन्ट्रक्सनका अध्यक्ष हरिप्रसाद सुवेदीले आफू र परिवारको ज्यानको सुरक्षाको माग गर्दै हिनामिना गरिएको ८ करोड १४ लाख रुपैयाँ रकम सुनिश्चित्ताको माग गरेका छन् । सिरुवा कन्ट्रक्शनका एमडी दिनेश पौडेलको जालोमा पर्दा आफू आज घरको न घाटको बनेको र ज्यान नै असुरक्षित भएको सुवेदीको दाबी छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा सुवेदी दम्पत्ति नै उपस्थित् भएर ज्यानको सुरक्षाको माग गर्दै हिनामिना गरिएको रकम फिर्ताको माग गरेका हुन् । सो क्रममा सुवेदीले आफू कसरी सिरुवामा जोडिएको र कसरी ठगिएको भन्ने कुरा बेलविस्तार लगाएका छन् ।
उनले दिनेश पौडेलसँगको भेटबारे यसरी खुलाए,‘कास्की जिल्ला फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङ्जा जिल्लाको पूरानो सदरमुकाम नुवाकोटसम्मको १३.७ किलोमिटर बाटो सिरुवा कन्ट्रक्शन कम्पनी प्रा.लि.ले टेण्डर पारेपछि यस कम्पनीका एमडी दिनेश पौडेलसँग मेरो सम्पर्क भएको थियो । बाटो निर्माण सम्बन्धमा अनुगमन समिति अध्यक्ष पदमा रही निर्माण कार्य सहज होस भनी आर्थिक वर्ष ०७५ मा विविध व्यक्ति, संस्था र म स्वयमले दश लाख रुपैयाँ आर्थिक सहयोग गरियो, त्योपनि बिना बिना ब्याज ९ महिनामा फिर्ता लिएको हुँ । मैले सबै खाले सहयोग गरेको थिएँ ।’
सुवेदीकाअनुसार पौडेल रामेछापका लिखु तामाकोशी गाविस–२ सैंपुका हुन् । उनी हाल काँडाघारी पेप्सीकोलाको गान्धी कलेज नजिकै बस्छन् । स्याङ्जाको फेदिखोला वडा नम्बर १ मट्टिखान स्थायी घर भएका सुवेदीले आफू सिरुवा कम्पनीमा जोडिनुअघि सामाजिक काममा व्यस्त भएको जानकारी दिए ।
सुवेदीले आफूले एमडी पौडेलसँगको भेटवार्तामा पटक-पटक यो कम्पनीलाई अधिकतम ३ देखि ४ वर्षसम्म मात्रै दिनसक्ने त्यसपछि आफ्नै गाउँमा फर्किएर समाजसेवा निरन्रता गर्ने भनेको पनि स्मरण गराए । ०७६ मा दिनेश पौडेल आफ्नो पोखरास्थित् घरमा नै बसेको पनि सुनाए । उनले भने,‘उहाँ पोखरामा रहेको मेरो घरमा ६–७ पटक आउनुभयो । अप्ठ्यारोमा छु भन्नुभयो । कम्पनीका सबै काम शिथिल थिए । त्यस्तो बेलामा मैले सहयोग गरेको थिएँ । बैंक, वित्तिय संस्था र सहकारीसँग पुँजीको व्यवस्थापन गरेको थिएँ । तर, उहाँले काखमा बसेर मलाई हलाल गर्न खोज्नुभएको रहेछ ।’ सो क्रममा आफूले कास्की र स्याङ्जा जोड्ने १३.७ किलोमिटर बाटो, कास्की जिल्लाको विजयपुर खोलाको पुल, मादीखोला पुल, कपिलवस्तुअन्तर्गत हुलाकी सडक १८ किलोमिटर र सोही बाटोमा पर्ने पुलदेखि सम्पूर्ण आयोजना सञ्चालन खर्च, पुल एग्रिमेन्ट, ४ थान मेशिन (एक्साभेटर, १ थान ब्याकलोडर, १ थान ग्रेडर, पानी ट्यांकी २, मिक्सचर ३ थान खरिद गरेको पनि स्मरण गराए ।
सुवेदीले दिनेश पौडेल आफूसँग ०७७ देखि टाढा भएको स्पष्ट पारे । उनले भने,‘उहाँ मसँग २०७७ देखि टाढा हुनुभयो । कपिलवस्तुको साईटमा भरत चौलागाईंसँग मिलेर काम गर्नुभयो । भरतको प्रगतिशिल कन्सट्रक्शन थियो । मैले सहयोग गर्दा एमडी दिनेश पौडेललाई शर्त नराखी सहयोग गरेको थिएँ ।’ आफ्नो धेरै नै लगानी गरिसकेपछि दिनेश पौडेललाई कम्पनीको बोर्ड बैठमा राख्न भनेको तर पौडेलले नमानेको पनि उनले सुनाए । उनले भने,‘मैले आगन्तुक भनेर बोर्ड मिटिङमा राख्नु भनें । पूर्ण बैठकमा बोलाउनुहोस भनेर धेरै पटक भनें । तर, बैठक बोलाउन उहाँले बहाना बनाएर टार्नुभयो ।’ सो कम्पनीमा अप्रत्यक्ष रुपमा गणेश लामा पनि रहेको उनले खुलासा गरे ।
दनेश पौडेल, सफल थापा, सरोज गौतम र गणेश लामाको मिलेमतोमा आफूमाथि अन्याय भएको उनको आरोप छ । चारै जना व्यक्ति आफ्नो भौतिक शरिरको पछि लागेको सुवेदीको दाबी छ । उनकाअनुसार सरोज गौतम सिरुवाको खाता सञ्चालक हुन् । सरोज गणेश लामाको प्रतिनिधिको रुपमा कम्पनीमा रहेको उनको दाबी छ । उनले भने,‘उहाँहरु नियोजित र संगठित रुपमा मेरो पछि हात धोएरै लाग्नुभयो ।’
उनले आफूले दिनेश पौडेलसँग हिसाब गर्न बोलाउँदा गणेश लामा, चन्द्र लामा र दिनेश पौडेल यहाँबाट प्लेनबाट पोखरा गएको पनि स्मरण गराए । उनले भने,‘उहाँहरु पोखरा जहाजमा आउनुभयो, तर त्यही दिन फर्किने प्लेनको टिकट थियो । चेकका ठुट्टा, भौचर सबै भेला पारेको थिएँ । स्याङ्जा प्रहरीमा निवेदन हालें । जिल्ला प्रहरी कार्यालयमा हिसाब गर्न बोलाउँदा आउनुभएन । बरु, उल्टै उहाँले उच्च अदालतमा मुद्दा हाल्नुभयो । उहाँ इमानदार हुनुहुन्थ्यो भने किन सुरक्षा निकायमा बोलाउँदा आउनुभएन । पछि अदालतबाट स्टे अर्ड लिएर जानुभयो । त्यतिवेला कास्कीमा होविन्द्र बोगटी हुनुहुन्थ्यो । एसपीको जिम्मेवारीमा ।’ उनले दिनेश पौडेलको हिसाबकिताब फरफारक नगर्ने बानी रहेको दाबी गरे ।
उनले अहिले आफ्नो घरमा बस्ने अवस्था नै नभएको सुनाए । उनले भने,‘मलाई र परिवारलाई अपहरण गर्ने धम्की आयो, लाश पोखरा पठाईदिने भनेका छन् । यसमा गणेश लामाको संलग्नता छ । सरोज भनेको गणेश लामाले पठाएको मान्छे । गणेश लामाको निर्देशनमा यो कुरा भएको हो । ओरल पनि छ। अहिले मेरो दिनेश पौडेलसँग २ महिना भयो भेट भएको छैन् । ०७२ अगाडि यो कम्पनी गणेश लामाकै रहेछ । अहिलेपनि हो । गणेश लामाले पर्दापछाडिबाट काम गरेको छ । मलाई प्रत्यक्ष धम्की दिएको छैन् ।’
सो क्रममा सुवेदीकी पत्नी सिता सुवेदीले आफूहरुको आजको अवस्था सिरुवा कन्ट्रक्शनले बनाएको बताईन् । उनले भनिन्,‘धन सम्पत्ति भएर यो कम्पनीमा लागेको होईन । जाने बुझेर आएको पनि होईन । यो त फटाहाहरुको कम्पनी रहेछ । यो कम्पनीको कारण आज हाम्रो घर, जग्गा, जमिन सबै लिलाममा गैसकेको छ । लगानी गरेको पैसा फिर्ता आओस । शेयर दिन्छु, नाफा दिन्छु भनेका थियो । कम्पनीमा गरेको लगानी फिर्ता आओस । हामीलाई अरु केही चाहिँदैन् । दिनेश पौडेल त योजना बुनेर हामीलाई फसाउन जानुभएको रहेछ ।’ उनले आफूहरुको जीवन रक्षाको माग गरिन् । उनले थपिन्,‘रहरले हामी आज रिपोर्टर्स क्लब आएका होईनौं । कहरले आएका हो । मेरो श्रीमान यो विषय तीन वर्षसम्म मिलाउन लागिपर्नुभयो । तर, उनीहरुबाट आज र भोलि भन्दै झुलाउने काम भयो ।’