Logo

ओली सरकारलाई चोरको संज्ञा दिँदै प्रभु साहको चेतावनी : संवैधानिक हक खोस्ने अधिकार कसले दियो ?



काठमाडौं, १ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा उत्रिन लागेका आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि प्रहरीले अवरोध र दमन गरेको भन्दै आपत्ति जनाएका छन् । भ्रष्टाचारविरुद्ध मधेश अभियानमा उत्रिएका आजपाका नेता तथा कार्यकर्ताहरुमाथि प्रहरीले आज सिराहा र सप्तरीमा अवरोध सिर्जना गरेको जनाईएको छ ।

अध्यक्ष साहले भ्रष्टाचारविरुद्ध मधेश यात्राको क्रममा आफूहरुको अभियानमा जोडिएका कलाकार, पत्रकार र युवाहरु सवार गाडीलाई सिराहा र सप्तरीमा प्रहरीले बिनाकारण घण्टौं रोकेर अपमान गर्ने र कार्यक्रम भाँड्ने अमानवीय हर्कत गरेको टिप्पणी गरेका छन् । साहकाअनुसार अभियानमा हिँडेका टोलीका गाडीहरु सप्तरीको कदमहामा रोकिएका छन् ।

उनले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै शान्तिपूर्ण सभा, जुलस गर्ने संवैधानिक हक खोस्ने अधिकार नभएको चेतावनी दिएका छन् । उनले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी र तिनका वैधानिक जनसंगठनका गतिविधि रोक्ने वर्तमान सरकारको निकृष्ट गतिविधिलाई नेपाली जनताले नजिकबाट नियाँलिरहेको र छिट्टै जवाफ दिने बताएका छन् ।

साहले फेशबुकमा लेखेका छन्-

भ्रष्टाचार विरुद्ध मधेश यात्राको क्रममा हाम्रो अभियान टोलीका कलाकार, पत्रकार र युवाहरूको गाड़ीलाई आज सिरहा र सप्तरीमा प्रहरीद्वारा बिना कारण घण्टौ रोकेर अपमान गर्ने र कार्यक्रम भाड़ने अमानवीय हर्कत गरिगरेको छ । अहिले पनि हाम्रो अभियान टोलीका गाड़ीहरू सप्तरीको कदमहामा रोकिएको छ । म यो चोर सरकारलाई सोधन चाहन्छु, ‘शान्तिपुर्ण सभा जुलूस गर्ने संवैधानिक हक के खोसिएको हो रु” निर्वाचन आयोगमा दर्ता गरेका पार्टी र तिनका वैधानिक जनसंगठनको गतिबिधि रोकने सरकारको यो निकृष्ट गतिबिधिलाई नेपाली जनताले कसरी लिने ?



प्रतिक्रिया दिनुहोस्