काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले वर्तमान सरकार तत्काल नढल्ने दाबी गरेका छन् । उनले भने,‘मलाई के विश्वास छ भने–विभिन्न दक्षिणकालीमा कालो बोको भाकल गरेतापनि वा विभिन्न षड्यन्त्र गरेतापनि अनेक गरेतापनि तत्काल यो दुई पार्टीबीचको संयुक्त सरकारलाई कमजोर बनाउने अवस्था रहँदैन होला भन्ने मेरो विश्वास हो ।’
उनले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको विषयलाई आलोचना गरेका छन् । उनले रास्वपाका नेता तथा कार्यकर्ताहरुको हर्कतको कारण विश्वभरि छरिएर बसेका नेपालीहरु पनि छक्क परेको टिप्पणी गरे ।
हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगका कुराकानीमा नेता बडालले यस्तो बताएका हुन् । उनले रास्वपाका नेताहरु राजनीति बुझ्ने सवालमा अहिलेपनि क, ख, ग कै विन्दुमा रहेको दाबी गरे । रास्वपाका नेताहरुले न्याय निरुपण गर्ने कुरामा बाधा पुर्याउने प्रयत्न गरेको पनि बडालको आरोप छ ।
उनले भने,‘यसले उहाँहरु विधिसम्मत् रुपमा अघि बढ्ने कुरामा पुग्नुभएको रहेनछ । र, विधिविपरित क्रियाकलाप गरेर आनन्द लिने बाटोमा हुनुहुन्छ ।’ उनले रवि लामिछाने गृहमन्त्री भएको बेलामा जिबी राईलाई सुरक्षित राख्ने काम गरेको पनि आरोप लगाए । नत्र गृहमन्त्रीको जिम्मेवारीमा भएको व्यक्तिले जिबी राई फलानो देशको फलानो ठाउँमा छ भनेर किन बोलेको भन्दै उनले प्रश्न उठाए ।