काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले प्रयोग गरेको चाईना कार्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले दाहालको उक्त अभिव्यक्ति हल्का र देशको लागि पनि असर पुग्नेखालको भएको टिप्पणी गरे ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘दाहालजी, पुष्पकमलजी त्यो लेभलको प्रधानमन्त्री भएर, तीन पटक प्रधानमन्त्री भैसकेको मानिसले यो अवस्थामा आएर चाईना कार्ड, त्यहाँबाट फेरि सरकार हामी हटाईदिन्छौं । यो सरकार अब जान्छ भन्ने खालको कुराहरु बडो हलुका र अहिले यो कुटनीतिक रुपमा पनि यो उहाँको ज्ञानको पनि कमी रह्यो । अब प्रधानमन्त्री हुन त जोपनि देखिहाल्नुभयो, त्यति गाह«ो कुरा भएन । यद्धपी धेरै मान्छे त भएका छैनन् । तीन/चार जना नै दोहोरिएका छन् । तर, के भने कुटनीतिक ज्ञानको अभाव, एउटा छिमेकी राष्ट्रलाई खुशी पार्नको लागि अर्को छिमेकी राष्ट्रप्रति यो खालको कटाक्ष प्रयोग गर्नु भनेको यो पुष्पकमल दाहालजीको लागिपनि अनि देशको लागि पनि यो राम्रो विषय होईन ।’
उनले भारत र चीन दुवै नेपालका लागि उत्तिकै महत्वपूर्ण भएकोले सन्तुलित सम्बन्ध राख्नु नै नेपालको हित हुने बताए । उनले नेपालले यतिवेला चनाखो कुटनीति गर्नुपर्ने बेला भएको स्मरण गराए । उनले प्रचण्डको पछिल्लो चाइना कार्डबारे अभिव्यक्तिलाई हल्का र अपरिपक्वको संज्ञा दिए । उनले भने,‘पुष्पकमलजी कहिलेकाहीँ हल्का रुपमा पनि बोल्नु हुँदो रहेछ । यस्तो हल्काफूल्का कुरा गर्दा देश नै अप्ठ्यारोमा पर्नसक्छ ।’ प्रचण्डले हिजोमात्रै सरकारमा माओवादीको कमब्याक हुने कुरा गरेकोप्रति पनि खड्काले आलोचना गरे ।
उनले भने,‘अलिक अस्ति उहाँले माओवादी सरकारमा जाँदैन भन्नुभयो, भर्खरै फेरि ३२ नम्बरको म्याजिक नम्बरको कुरा गर्नुभयो । उहाँको भित्री कुरा के छ भन्दाखेरि अब भारत केपी ओलीजीसँग रिसायो, चाईना कार्ड प्रयोग गर्यो, पहिला भारत नगएर चीन गयो, भारतले पनि बोलाएन भनेपछि अब सरकार चाहीँ उहाँले यहीबारेमा अब चाईना कार्ड भनेर दक्षिणको मित्रलाई पनि अलिकति खुशी बनाउने, त्यसकारण सरकारको कता कता बाहिर चाहीँ सरकार जान्छ भन्ने खालको सोचहरु भएको हुनाले, सरकार हिँड्छ त्यसपछि अनि फेरि यो म्याजिक नम्बर लिएर म आउँछु भन्नुभयो । केही समय पहिले उहाँले सरकार हामी ढाल्दैनौं, आँफै ढल्छ भन्दै हुनुहुनुहुन्थ्यो । अहिले फेरि म्याजिक नम्बरको कुरा गर्नुभयो । अब यसले के देखाउँछ भने नेपालको जुन प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुको वजन कस्तो हुनुपर्छ भन्ने कुरा, जनताले यसरी बोलेपछि अडिग रहने कि नरहने ? भन्ने कुरा हो । यस्तो कुराले एउटा भ्रम फैलिन्छ ।’