काठमाडौं, ४ मंसिर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिको बैठकले एकता महाधिवेशन आगामी मे महिनामा गर्ने निर्णय गरेको छ । बैठकमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोपनि सहभागी थिए ।
यो समितिको पहिलो बैठक हो । एनआरएनए मुख्यालयमा ताला लगाएपछि घलेले बैठक बालुवाटारको नेपाल हाउसमा राखेका थिए । डा. बद्री केसी समूह भने बैठकमा सहभागी नभएको जनाईएको छ । संस्थापक अध्यक्ष डा. महतोले एकतावद्ध एनआरएनए नै आजको आवश्यकत्ता भएको बताउँदै आएका छन् ।
बैठकमा सहभागी विनोद कुँवरले सर्वोच्च अदालतको आदेश अनुसार नै आजको बैठक आगामी मे भित्र एकता महाधिवेशन गर्ने निर्णयमा पुगेको जानकारी दिए । उनकाअनुसार बैठकमा संस्थापक अध्यक्ष डा. महतो, प्रमुख संरक्षक घले, पूर्व अध्यक्ष रविना थापा, विनोद कुँवर र जानकी गुरुङ उपस्थित् थिए । यस्तै, भर्चुअल रुपमा पूर्वअध्यक्षहरु जिवा लामिछाने, कुमार पन्त, कुल आचार्य सहभागी थिए । बैठकमा संस्थापक सदस्य रामप्रताप थापाको पनि सहभागिता थियो । सबै संस्थापक र पूर्व अध्यक्षहरुले सबैको सहमतिमा आगामी मे महिनामा एकता महिाधवेशन गर्नेबारे सहमति थियो ।
संस्थापक अध्यक्ष डा. महतोले संघलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका थिए । महतोको भनाई उद्धृत गर्दै कुँवरले रिपोर्टर्स नेपाल डटकमालाई भने–‘संस्थापक अध्यक्षज्यूले एकता महाधिवेशन गराउनुपर्छ भन्नुभयो, उहाँले बाँकी असन्तुष्ट साथीहरुलाई पनि बैठकमा समावेश गराउनुपर्छ । छलफलमा जाऔं । एकताको महाधिवशेनमा जानुपर्छ अब झैझगडा गरेर हुँदैन भन्ने कुरा राख्नुभएको छ ।’
पूर्व अध्यक्ष जीवा लामिछाने पनि संस्थाको हितको लागि सहमतिमा एकता महाधिवेशन गर्नुको विकल्प नभएको धारणा राखेका थिए । लामिछानेले असन्तुष्ट साथीहरुलाई पनि समेटेर जानुपर्ने बताएका थिए । बैठकको लागि एनआरएनएको मुख्यालय बन्द गरिनु आपत्तिजनक विषय भएको लामिछानेको भनाई थियो । उनले भनेका थिए,‘एनआरएनए कार्यालय बन्द गरेकोमा घोर आपत्ति छ । मिटिङमा आएर आफ्नो कुरा राखेको भए हुन्थ्यो ।’ आजको बैठकले परराष्ट्र र कानून मन्त्रालयलाई अबदेखि आयोजना गर्ने बैठकमा कार्यविधिसहित सशक्त बनाउनको लागि कर्मचारी नियुक्तीको लागि आग्रह गरिने निर्णय भएको पनि कुँवले जानकारी दिए ।