तेहरान, ५ मङ्सिर । इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिएका छन् ।
पछि कूटनीतिज्ञहरूका अनुसार पश्चिमी राष्ट्रहरूले मङ्गलबार मध्यरातपछि एजेन्सीको भियना मुख्यालयमा प्रस्ताव पेश गरेका छन् ।
बुधबार मन्त्रालयको विज्ञप्तिअनुसार अराघचीले आफ्ना फ्रान्सेली समकक्षी जीन–नोएल बारोटसँग कुरा गर्दै ‘जर्मनी, फ्रान्स र बेलायतका तीन देशले मस्यौदा पेस गर्ने निर्णयको कडा निन्दा गरे र यसले ‘मामिलालाई अझ जटिल मात्र बनाउनेछ’ भन्दै चेतावनी दिए ।
कूटनीतिज्ञहरूले पेरिस, बर्लिन र लन्डनले बिहीबार मतदानका लागि प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् ।
उनीहरूका अनुसार प्रस्तावित निन्दा इरानलाई आणविक नियमहरूको पालना गर्न र आइएइएको दीर्घकालीन चिन्ताहरूलाई सम्बोधन गर्न कूटनीतिक दबाब बढाउने आवश्यकताले प्रेरित छ ।
अराघचीले आफ्नो टेलिफोन वार्तामा युरोपेली शक्तिहरूको यो कदम ‘इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणसँग स्पष्ट विरोधाभास’ भएको पनि बताए ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसी नोभेम्बर १३ मा दुई दिने भ्रमणका लागि तेहरान पुगेर फोर्डो र नतान्जमा रहेका इरानका प्रमुख संवर्धन स्थलहरूको भ्रमण गरेका थिए । इरानले यस भ्रमणलाई सकारात्मक मानेको थियो ।
तर इरानी आणविक प्रमुख मोहम्मद एस्लामीले आफ्नो आणविक कार्यक्रमलाई लक्षित गर्ने कुनै पनि ‘हस्तक्षेपकारी प्रस्ताव’ विरुद्ध चेतावनी दिँदै ‘तत्काल प्रतिकार्य’ को धम्की दिएका छन् ।
एजेन्सीले मङ्गलबार एएफपीले देखेको एक गोप्य प्रतिवेदनअनुसार इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।
– तनाव –
इरान र एजेन्सीबीच सन् २०१५ को सम्झौता पश्चात् पटक–पटक तनाव बढेको छ । आइएइएले प्रतिबन्ध हटाउने बदलामा तेहरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने व्यवस्था गरेको थियो ।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा सम्झौताबाट संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि र इरानमाथि भारी प्रतिबन्धहरू पुनः लागु गरेपछि यो सम्झौता भङ्ग भयो ।
जवाफमा तेहरानले सम्झौताअन्तर्गतका आफ्ना जिम्मेवारीहरूबाट पछि हट्दै संवर्धना स्तर ६० प्रतिशतसम्म बढायो । यो आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमानजिक छ ।
यद्यपि आणविक विकासहरू नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि भएको भन्दै इरानले सधैँ आणविक हतियार खोजेको कुरालाई अस्वीकार गरेको छ ।
आइएइएका अनुसार तेहरान ६० प्रतिशत युरेनियम संवर्धन गर्ने एक मात्र गैर–आणविक हतियार भएको देश हो ।
इरानले हालैका महिनाहरूमा समृद्ध युरेनियमको भण्डार बढाएको एजेन्सीले मङ्गलबार बताएको छ । यो सन् २०१५ को आणविक सम्झौतामा तोकिएको सीमाभन्दा ३२ गुणा बढी पुगेको छ ।
अक्टोबर २६ सम्म भण्डार छ हजार ६०४.४ किलोग्राम रहेको अनुमान गरिएको छ । यो अगस्टको अन्तिम त्रैमासिक प्रतिवेदनभन्दा ८५२.६ किलो बढी हो ।
बिहीबार अराघचीले भ्रमणमा रहनुभएका आइएइए प्रमुखलाई इरान ‘राष्ट्रिय हित’ र ‘अपरिहार्य अधिकार’ को आधारमा ‘वार्ता गर्न तयार’ रहेको तर ‘दबाब र धम्कीको अधीनमा वार्ता गर्न तयार नरहेको’ बताएका थिए ।
उनले शनिबार पनि तेहरान विरुद्धको प्रस्ताव पारित भयो भने इरानले ‘हाम्रो आणविक कार्यक्रममा नयाँ उपायहरू लिनेछ जुन उनीहरूले निश्चित रूपमा मन पराउने छैनन्’ भने ।
अनुभवी कूटनीतिज्ञ अराघची सन् २०१५ को आणविक सम्झौतामा पुग्ने वार्तामा इरानका मुख्य वार्ताकार थिए । रासस