Logo

बालुवाटारमा बसेर सडकमा तमाशा नदेखाउन ओलीलाई प्रभु साहको चेतावनी, सरकारमा चल्नै नसक्ने भएको भए बालकोट फर्कन सुझाव



काठमाडौं, ७ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जागरणसभाको नाममा सडकमा मञ्च बनाएर (सडक कब्जा) गरी पार्टीको कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको आरोप लगाएका छन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज (शुक्रबार) सञ्चारकर्मीहरुसंगको भेटघाटमा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै भने,‘के सडक कब्जा गरेर पार्टीको सभा गर्नका लागि हो ?’ सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सत्तामा भएको बेला सडकमा शक्ति प्रदर्शन कसका बिरोधमा गरेको हो भनेर प्रश्न समेत उनले गरे ।

‘एमालेको यो सडक प्रदर्शन कसको बिरोधमा हो ? सत्तामा बसेर कसलाई देखाउनका लागि प्रधानमन्त्रीजीले प्रदर्शन गर्नुभएको हो ? यो प्रदर्शन कांग्रेसलाई देखाउनका लागि हो की छिमेकीलाई देखाउन हो ? विपक्षीलाई तर्साउनका लागि हो की ? प्रधानमन्त्रीजीको यो सडक प्रदर्शन बेमौसमी बाजामात्रै हो’–आजपा अध्यक्ष साहले भने ।

विगतमा पनि एमालेले दरबारमार्गमा यस्तै प्रदर्शन र सभा गर्दै आएकोमा आजपा अध्यक्ष साहले दरबारमार्ग के एमालेको बिर्ता हो भन्दै प्रश्नसमेत गरे । कानूनी शासन स्थापना गर्ने र सुशासन कायम गर्ने भनेको ओली सरकारले सडकमा आएर अराजकता किन मच्चाएको होला भन्दै आजपा अध्यक्ष साहले यस्तो अराजक कार्यमा सिंगो सुरक्षाकर्मी ओलीको व्यक्ति पुजामा समर्पित भएको भन्दै आफूलाई त्यसमा पनि अचम्म लागेको टिप्पणी गरे ।

साहको प्रश्न छ,‘अरुलाई सडकमा जुलुश निकाल्नपनि प्रहरी प्रशासनले दिँदैन्, तर एमालेले सडकमा नै मञ्च बनाएर सभा गरेको छ, प्रहरीले पूरै सभाको सुरक्षा पैरवी गरेको छ, नेपालको सुरक्षा संयन्त्र पार्टीको पहरेदार बन्ने हो ? हाम्रो पार्टीले पनि सडकमा मञ्च बनाएर सभा गर्न किन नपाउने ?’ उनले सत्तामा बसेर सडकबाट अराजकता फैलाउन नपाउने उल्लेख गर्दै प्रधानमन्त्रीको पार्टीले सडक सभा गरेर कानूनी शासनको उपहास गरेको टिप्पणी गरे ।

‘स्थिरता ल्याउने भनेर बनेको सरकार आफैं सडक आतंकमार्फत देशमा अराजकता फैलाईरहेको छ । सुशासन दिनुको साटो कानूनी शासनको उपहास भएको छ । अरूलाई सडकमा प्रदर्शन गर्न नदिने, अनि आफैं सडकमा सभा गर्ने यो पनि केपी ओलीको व्यवहार चितवनको ध्रुवे हात्तिको आतंककै निरन्तरता हो । यस्तै रवैया रहि रह्यो भने केपी ओलीको राज्य लुटको आयू छोटो हुनेछ ।’–साहले आक्रोश पोखे ।

साहले ओलीलाई सिंहदरबार र बालुवाटारमा बसेर बालकोटजस्तै तमासा देखाउन नपाईने चेतावनी दिए । उनले भने, ‘यदि तपाईंलाई सरकारमा बसेर चल्नै गाह्रो भएको हो भने यस्तो असहज महशुर गरेर बालुवाटारमा नबस्नुहोस, बरू बालकोट जानुहोस, सिंहदरबार र बालुवाटारमा बसेर बालकोटको बार्दलीजस्तै तमासा देखाउन पाईदैन् । तपाईं बालकोटमा जानुस, बार्दलीबाटै तमासा देखाउनुस् । अति व्यस्त दरबारमार्गमा जनतालाई दुख दिन पाईदैन् ।’ साहले सत्तामा संकट आएपछि एमालेले सडकमा सभा आयोजना गरेर तमाशा देखाएको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्