म्याग्दी, मंसिर ९ । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका–२ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त छन्।
जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ।
दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेका उनले बताए। मंसिर पहिलो सातासम्म विरुवा बिक्री गरेर उनले दुई लाखभन्दा बढी आम्दानी गरेको जानकारी दिए। ‘हालसम्म दुई लाख १० हजार बराबरका बेर्ना बेचेँ। नर्सरीमा विभिन्न जातका बेर्ना हुर्कदै छन्।’
उनको परिवारका चार सदस्यको इलम पनि बेर्ना उत्पादन भएको छ। जैविक उत्पादन भएकाले ती खरिद गर्न उनको बारीमा नै ग्राहकको भीड लाग्ने गरेको छ।
सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर,भकुण्डे,गौश्वारा,बगरफाँट,पुलाचौर देखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रे लगायतका स्थानबाट किसान आउने गरेका छन् । उनले एक याममा बेर्ना बेचेर दुई लाखभन्दा बढी आर्जन गर्दै आएको बताए। दुई रोपनी जग्गामा उनको नर्सरी फैलिएको छ ।
‘बीउ र मलमा ३० हजारदेखि ४० हजारसम्म लगानी हुन्छ। एकै सिजनमा दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्न सफल भएको छु’, कार्कीले भने। रासस