Logo

रवि लामिछानेलाई म्याद थपका लागि चौथोपटक कास्की अदालत लगिँदै



काठमाडौं, मंसिर ९ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ।

सहकारीको रकम अपचलन, सङ्गठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो।

यसअघि थपिएको म्याद शुक्रबार सकिएकाले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धान गर्न सुरुमा कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि रूपन्देही, काठमाडौं र चितवनले पनि पक्राउ पुर्जी जारी गरेका छन् ।

उनलाई काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन कसूरमा पनि पक्राउ पुर्जी जारी भएको छ । यसअघि उनलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा पोखराबाट रुपन्देही लगेर बयान लिइएको थियो ।

लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ ।



प्रतिक्रिया दिनुहोस्