बैतडी, ११ मङ्सिर । एकाइसऔँ संस्करणको रेडियन्ट ग्यास बिडिसिए–एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१ आजदेखि हुने भएको छ । दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको यहाँस्थित जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको आज बिहान ९ बजे उद्घाटन हुनेछ ।
उद्घाटनपश्चात् पहिलो खेलमा कालाशैनी क्रिकेट क्लब र महारूद्र क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताका रूपमा लिइएको छ ।
यही मङ्सिर ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा सञ्चालन हुने सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा मङ्सिर ११ देखि प्लेट र मङ्सिर २० देखि इलाइट च्याम्पियनसिपका खेलहरू सञ्चालन हुनेछन् ।
प्लेट च्याम्पियनसिपमा सहभागी हुने ११ टोली रहेका सचिव बोगटीले जानकारी दिए । प्लेट च्याम्पियनसिपको विजेता टोली इलाइट च्याम्पियनसिपका लागि छनोट हुनेछ ।
गत संस्करणमा सेमिफाइनल पुगेका चार टोली र यो वर्षको प्लेट च्याम्पियनसिपको विजेता समूह इलाइट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । निङ्लाशैनी क्रिकेट क्लब, दशरथचन्द क्रिकेट एकेडेमी, त्रिपुरा क्रिकेट क्लब र एनआरवाइसी टिम गत वर्ष सेमिफाइनलमा पुगेका थिए ।
मङ्सिर २० गतेदेखि सुरू हुने इलाइट च्याम्पियनसिपको पहिलो खेलमा त्रिपुरा र प्लेट च्याम्पियनबीच भिडन्त हुनेछ । प्रतियोगिताका शीर्ष दुई टोली मङ्सिर ३० गते उपाधिका लागि भिड्नेछन् । यो प्रतियोगिता पहिलोपटक टर्फ पिचमा हुनेछ ।
नेपाल क्रिकेट सङ्घको सहयोगमा दशरथचन्द खेलमैदान, सुन्दरखालीमा टर्फ पिच निर्माण गरिएको हो । जिल्ला क्रिकेट सङ्घले गत वर्षदेखि ‘ओडिआइ फरम्याट’मा प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख, द्वितीय पुरस्कार रु ५० हजार र प्लेट च्याम्पियन हुने टोलीलाई रु २५ हजार, म्यान अफ द सिरिजलाई रु १५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक रोयल मल्टिलुक कन्सर्न (रेडियन्ट ग्यास) रहेको छ । यस्तै प्रायोजकमा पेप्सी, सहप्रायोजकमा नवजीवन सहकारी, लिटिल बुद्ध एकेडमी, पद्मा हस्पिटल र जिल्लाका दशवटै पालिकाहरु रहेका छन् ।
गत वर्ष सम्पन्न २०औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लबले जितेको थियो । खेलाडीहरू उत्पादन र क्षमता अभिवृद्धिका जिल्लास्तरबाट प्लेट र इलाइट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। रासस