Logo

उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी



सिमकोट, ११ मङ्सिर । यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ ।

उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदर गरेको हो । मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले उपनिर्वाचनका लागि ७३ जना कर्मचारी खटाइएका बताए ।

उनले उक्त निर्वाचनका लागि बाह्रवटा मतदान स्थलमा १३ वटा मतदान केन्द्र रहने बताए । यसका लागि १३ जना मतदान अधिकृत, १३ जना सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रका दुई जना सहायक कर्मचारी र एक–एक जना कार्यालय सहयोगी खटिने जानकारी दिए ।

भोलि मङ्सिर १२ गते कर्मचारीलाई मतदान सामग्रीसहित १३ वटै मतदान केन्द्रतर्फ परिचालन गर्ने कार्यक्रम छ । ती कर्मचारी सोमबारदेखि आन्तरिक प्रशिक्षणमा व्यस्त छन् । रासस



प्रतिक्रिया दिनुहोस्